कोहलपुर मेडिकल कलेजमा दैनिक चार सयलाई खाना खुवाउँदै केएल दुगड समूह


जेठ २,कोहलपुर।
केएल दुगड गु्रपले नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तिनका आफन्तलाई दुई महिनासम्म खान पुग्ने खाद्यान्न उपलब्ध गराउने भएको छ । कोरोना संक्रमित र तिनका कुरुवालाई लक्षित गर्दै स्थानीय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रममा केएल दुगड गु्रपले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो । बाँके र आसपासका जिल्लाबाट आएका संक्रमित र तिनका कुरुवा आफन्तलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवीले सहुलियत मूल्यमा खाना खुवाउने व्यवस्था गरेका छन् । प्रत्येक दिन बिहान दुई सय र बेलुका दुई सय जना संक्रमित तथा तिनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम सञ्चालनमा ल्याइएको सञ्चालकमध्येका अशोक कोइरालाले बताए । सहुलियत खाना कार्यक्रममा प्रतिछाक खाना ३० रुपैयाँमा उपलब्ध हुने र संक्रमितका लागि हरेक दिन अण्डाको पनि व्यवस्था गरिएको छ । कार्यक्रममा दुई महिनालाई आवश्यक पर्ने खाद्यान्न केएल दुगड समूहले सहयोग गरेको छ भने अन्य आवश्यक सामग्री नेपालगन्ज स्थित अन्य उद्योगी व्यवसायीले सहयोग गरेका छन् । संक्रमित र तिनका कुरुवाले भोग्नुपरेको समस्यालाई लक्षित गरेर सामाजिक उत्तरदायित्वअन्तर्गत दुई महिनालाई आवश्यक चामल र दाल उपलब्ध गराइएको केएल दुगड गु्रपका प्रबन्धक प्रदीप छाजेडले बताए ।(आर्थिक अभियान)