बाँकेमा जेठ १० गतेसम्म लम्बियो निषेधाज्ञा
नवीन गिरी / नेपालगन्ज । बाँकेमा वैशाख १३ गतेदेखि जारी निषेधाज्ञा जेठ १० गतेसम्म लम्बिएको छ । जेठ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी नै रहनेछ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा आज जारी आदेशमा बाँकेमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको चेन तोड्न वैशाख १३ गते राति १२ बजेदेखि जिल्लाभर लगाइएको निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्म थप गरिएको उल्लेख छ । यो अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ । पसल व्यवसाय सञ्चालन, सवारी साधन र अत्यावश्यक काम बाहेकको हिंड्डुलमा पनि निषेध गरिएको छ । एटिएम लगायत सीमित सङ्ख्याका कर्मचारीद्वारा दैनिक बढीमा ३ घण्टा बैङ्क सेवा भने खुला रहनेछ । दैनिक उपभोग्य बस्तु खरिदका लागि बिहान ६ देखि ९ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पसल सञ्चालन गर्न दिइने सूचनामा उल्लेख छ । नेपालगन्ज उपमहानगरपालिकामा भने नै वैशाख ८ गते राति १२ बजेदेखि नै निषेधाज्ञा लगाइएको थियो ।