सल्यान जिल्ला अस्पताललाई २० वटा अक्सिजन सिलिन्डर प्रदान


दीपक शर्मा / सल्यान । सेल्फ हेल्प अभियान समूहले सल्यान जिल्ला अस्पताललाई २० वटा अक्सिजन सिलिन्डर प्रदान गरेको छ । सेल्फ हेल्प समूहले अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार अभियान सञ्चालन गरी सामाजिक सञ्जालबाट आर्थिक सङ्कलन गरेको थियो । सामाजिक सञ्जालबाटै सञ्चालन गरिएको अभियानबाट प्राप्त भएको रकमले जिल्ला अस्पताल सल्यानलाई ४ लाख ४० हजारको लागतमा २० अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको पत्रकार तथा अभियन्ता आषिक केसीले जानकारी दिए । अक्सिजनको अभावमा कोरोना संक्रमितहरु तड्पिएको देखेपछि उक्त अभियान सञ्चालन गरिएको उनले बताए । सबै नेपालीको एक एक पसिना जम्मा गरेर अस्पतालको सम्पत्तिको रुपमा सिलिन्डर प्रदान गरेको अर्का अभियन्ता गोविन्द शर्माले बताए । उनले अक्सिजनको कमीले कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपर्ने आसाका साथ अभियान सञ्चालन गरेको बताए । एक हप्ता सञ्चालन गरिएको अभियानमा ५ लाख २१ हजार रकम सङ्कलन भएको र ४ लाख ४० हजारको अक्सिजन सिलिन्डर खरिद गरेको शर्माले जानकारी दिए । सङ्कलन गरिएको केही रकम बचेको र उक्त बचेको बचतलाई पनि सदुपयोगको लागि अर्को अभियानको पनि तयारी भइरहेको उनको भनाई छ ।