चौरजहारीमा रहेको पीसीआर ल्याब पुन: सञ्चालनमा

जेठ ३, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको पीसीआर मेशिन पुनः सञ्चालनमा आएको छ । चौरजहारी नगरपालिकामा करीब ६ महीनापछि पीसीआर ल्याब पुनः सञ्चालनमा आएको हो । कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलिन थालेपछि पीसीआर मेशिन सञ्चालनमा ल्याएको नगरपालिकाले जानकारी दिएको छ । आर्थिक समस्याका कारण बन्द भएको पीसीआर मेसीन ६ महीनापछि मेशिन सञ्चालन शुरु भएको हो । बजेट अभावका कारण किट, जनशक्ति तथा आवश्यक सामग्रीको व्यवस्थापनमा समस्या भएपछि प्रयोगशाला बन्द भएको थियो ।

जिल्लामा पनि नयाँ भेरियन्टसहितको कोरोना भाइरसको लहर तीव्र रूपमा फैलिएपछि प्रयोगशाला पुनः प्रयोगमा ल्याइएको नगर स्वास्थ्य सह–संयोजक डण्डप्रसाद शर्माले जानकारी दिएका छन् । उनले भने, ‘तत्काल करीब २०० किट खरीद गरेको छ ।’  जिल्लामा संकलन गरिएको स्वाब परीक्षणका लागि सुर्खेत पठाउनु पर्ने बाध्यता भएपछि ल्याब सुचारु गरेको शर्माको भनाइ रहेको छ । अब आसपासका जिल्लाका स्वाब पनि प्रयोगशालामा परीक्षण हुने शर्माले जानकारी दिए  ।

कोरोनाको संक्रमण दर बढेसँगै नगरपालिका आफैंले किट, पीपीई सेटलगायतका सामग्री र जनशक्ति व्यवस्थापन गरेर प्रयोगशाला सञ्चालनमा ल्याएको हो । केही सामग्री र जनशक्ति अभावका कारण प्रयोगशालामा क्षमताको ५० प्रतिशत मात्र नमूना परीक्षण भइरहेको  छ ।प्रयोगशालाका लागि कर्णाली प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि निकासा नभएको नगर उपप्रमुख राधा रोकाले बताइन् । कोरोना महामारी फैलिएपछि गत वर्ष नगरपालिकाले आफ्नै लगानीमा प्रयोगशाला सञ्चालनमा ल्याएको थियो । गत वर्ष १ करोड २३ लाख रुपैयाँ खर्चिएर नगरपालिकाले प्रयोगशाला स्थापना गरेको हो । (आर्थिक अभियान)

Translate »