सल्यानका स्थानीय तहले सञ्चालन गरेका आइसोलेसनमा अक्सिजनको अभाव

दीपक शर्मा / सल्यान ।
सल्यानका स्थानीय तहहरूले अक्सिजन सहितका आइसोलेसनलाई तीव्रता दिए पनि सुरुका अक्सिजन सिलिन्डरहरु खाली भएपछि अक्सिजनको अभाव हुन थालेको छ । स्थानीय तहहरूले अक्सिजन अभावकै कारण संक्रमितहरु आइसोलेसनमा राख्न नै छोडिसकेका छन् ।कोरोना सङ्क्रमितहरूका लागि तयार गरिएका आइसोलेसनमा न अक्सिजन पर्याप्त छ न दक्ष स्वास्थ्यकर्मी नै । सीमित मात्रामा भएका रहेका अक्सिजन सिलिन्डर रिफिल गर्न नेपालगञ्ज पठाउनु पर्ने र पठाएका सिलिन्डर पनि समयमै रिफिल नहुँदा समस्या भइरहेको स्थानीय तहहरूले बताउँदै आइरहेका छन् । अक्सिजन सिलिन्डर र दक्ष जनशक्ति हुँदा २० शय्याको आइसोलेसन निमार्ण गरेको सिद्ध कुमाख गाउँपालिकाले अक्सिजन सिलिन्डर नै सल्यान अस्पताललाई बुझाएको छ । १० वटा सिलिन्डरले बढीमा २४ घण्टासम्म मात्र काम गर्छ त्यसपछि रिफिल गर्न समय धेरै लाग्ने गरेको छ ।

यसले झनै बिरामीलाई समस्या पार्ने देखेपछि भएका अक्सिजन सिलिन्डर अस्पताललाई बुझाइएको र बिरामी पनि अस्पतालमै रिफर गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत मार्सल वलीले बताए । उनले भने, ‘स्थानीय तहमा न अक्सिजन छ न दक्ष जनशक्ति नै । त्यही भएर हामीले हामीसँग भएका अक्सिजन सिलिन्डर समेत अस्पतालमा दिएका छौँ र बिरामीहरू पनि त्यतै तिर रिफर गर्दै आइरहेका छौँ ।’ १० बेडको आइसोलेसन सञ्चालन गरेको कुमाख गाउँपालिकामा २ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । पहिले भएको अक्सिजनको आधारमा बिरामी भर्ना गरेको भए पनि अब थप नयाँ बिरामीलाई भर्ना गर्न नसक्ने भएको छ । अक्सिजन रिफिल गर्न नै समस्या भएपछि समस्या बल्झिँदै आइरहेको कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वलीले बताए । कपुरकोट गाउँपालिकाले ५ अक्सिजन सहितको ३० बेडको आइसोलेसन निमार्ण गरे पनि अक्सिजन सकिएपछि बिरामी नै भर्ना गर्न छोडेको छ । अक्सिजन भएपछि फेरी अक्सिजन रिफिल गर्न नसकेकै कारण बिरामीहरू आइसोलेसनमा नरहेको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र कुमार सेनले बताए । स्थानीय तहहरूले निमार्ण गरेका आइसोलेसनमा अक्सिजन अभाव हुँदा हाल स्थानीय तहका आइसोलेसनमा ८ जनाको मात्र उपचार भइरहेको छ । बाँकी अधिकांश होम आइसोलेसनमा बस्दै आइरहेका छन् । जसले मृत्युदर बढ्दै आइरहेको छ ।