गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधवार मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । वैशाख २९ गते सदनमा सबैभन्दा ठुलो दलको हैसियतमा मुख्यमन्त्री बन्नुभएका गुरुङले लामो समयसम्म मन्त्री विहीन हुँदा मन्त्रालयको काम प्रभावकारी नहुने भएकाले पुरानै मन्त्रीहरूलाई समेटेर मन्त्रिपरिषद् बिस्तार गर्नु भएको हो । यस अघि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका किरण गुरुङ पुनः अर्थ मन्त्री बन्नुभएको छ । यस अघि रामशरण बस्नेत भौतिक मन्त्री, विकास लम्साल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, नरदेवी पुन मगर सामाजिक विकास मन्त्री र राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री रहनुभएको थियो । उहाँहरूलाई अहिलेलाई बिना विभागीय मन्त्रीको रुपमा प्रदेश प्रमुख सिता पौडेलले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ । उहाँहरूको जिम्मेवारी केही दिनमा टुङ्गो लगाइने मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री गुरुङले एक महिनाभित्रै विश्वासको मत लिनु पर्नेछ भने असार नलाग्दै गण्डकी प्रदेश सभाबाट नीति तथा कार्यक्रम पारित गराउनु पर्नेछ । गण्डकी प्रदेशमा, एक जना स्वतन्त्रसहित एमालेका जम्मा २८ सांसद छन् भने माओवादीका सभामुख सहित १२, नेपाली काङ्ग्रेसका १५, राजमोका ३ र जसपाका २ सांसद भएको प्रदेश सभामा बहुमतका लागि मुख्यमन्त्रीलाई कम्तीमा थप ३ जना सांसदको समर्थन जुटाउनु आवश्यक छ ।(रेडियो नेपाल)