बाँकेका अस्पतालमा १८ घण्टामा १५ कोभिड सङ्क्रमितको मृत्यु

गुरमुरत यादव / बाँके। कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा थप १५ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरूको उपचार भइरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ७ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ ले सङ्क्रमणका कारण ज्यान गुमाएको अस्पतालहरूले जनाएका छन् । बिहीबार दिउसो १ बजेदेखि आइतबार बिहान ६ सम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरूमा स्वर्गद्वारी नगरपालिका–५ प्युठानका ४० वर्षीय पुरुष, घोराही उपमहानगरपालिका–५ दाङका ३५ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका–१० का ७१ वर्षीय पुरुष, कालीमाटी गाउँपालिका–२ सल्यानका ३४ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–१० कैलालीका ४० वर्षीया महिला, गुलरिया नगरपालिका–६ बर्दियाका ५५ वर्षीया महिला रहेका छन् । त्यस्तै नेपालगन्ज उपमहानगरपालिका–१३ बाँकेका ६३ वर्षीया महिला, खजुरा गाउँपालिका–७ बाँकेका ४८ वषीय पुरुष, लम्कीचुहा नगरपालिका–३ कैलालीका ६७ वर्षीय पुरुष, राप्तिसोनारी गाउँपालिका–३ बाँकेका ३३ वर्षीय पुरुष, खजुरा गाउँपालिका–३ का ६७ वर्षीय पुरुषको पनि कोभिड सङ्क्रमणकै कारण उपचारका क्रममा निधन भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार कपुरकोट गाउँपालिका–४ सल्यानका ४४ वर्षीय पुरुष, राप्तिसोनारी गाउँपालिका–८ बाँकेका ५५ वर्षीया महिला, बैजनाथ गाउँपालिका–६ बाँकेका २५ वर्षीय पुरुष र बैजनाथ–४ का ४३ वर्षीया महिलाको समेत सङ्क्रमणकै कारण मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २२२ जना र जिल्लाकै २६७ जनाको हालसम्म मृत्यु भइसकेको छ ।

Translate »