अक्सिजन प्लान्ट र एचडीयूका लागि थप १७ करोड ८७ लाख रुपैयाँको सहमति

जेठ ७, काठमाडौं । अर्थ मन्त्रालयले १३ ओटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू जडानका लागि  थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँको सहमति दिएको छ ।

जसमा भक्तपुर क्यान्सर अस्पतालका लागि २ करोड रुपैयाँ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि ५ करोड १२ लाख ७० हजार रुपैयाँ, चरिकोट अस्पतालका लागि १ करोड ५५ लाख रुपैयाँ, जिरी अस्पतालका लागि ८० लाख रुपैयाँ, बाजुरा अस्पतालका लागि ७५ लाख रुपैयाँ, बझाङ अस्पतालका लागि १ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

यस्तै डोटी अस्पतालका लागि ८० लाख रुपैयाँ, अछाम अस्पतालका लागि ७५ लाख रुपैयाँ, सोलुखुम्बु अस्पतालका लागि ७५ लाख रुपैयाँ, खोटाङ अस्पतालका लागि ७५ लाख रुपैयाँ, ताप्लेजुङ अस्पतालका लागि ७५ लाख रुपैयाँ, सूर्य विनायक अस्पतालका लागि ७५ लाख रुपैयाँ र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि १ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

यसअघि अर्थ मन्त्रालयले २६ ओटा केन्द्रीय अस्पताल र नौ ओटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको थियो ।

त्यस्तै  मन्त्रालयले केन्द्रीय र प्रदेशिक गरी २५ ओटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको थियो । यसैगरी मन्त्रालयले विभिन्न जिल्लाका १२ ओटा अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लाण्ट निर्माण गर्नका लागि १६ करोड ८० लाख रुपैयाँको सहमति दिएको थियो ।

यस्तै विभिन्न अस्पतालहरुमा अक्सिन प्लान्ट स्थापना तथा एचडीयू थप गर्न ८५ करोड रुपैयाँ ९३ लाख रुपैयाँको सहमति दिइएको थियो ।

कोभिड- १९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले विभिन्न समयमा स्रोत सुनिश्चित गर्दै आएको छ । (आर्थिक अभियान)

Translate »