स्व-अनुशासनमा जोड दिंदै यी दुई ओटा जिल्लाले लागू गरेनन् निषेधाज्ञा

 

जेठ ८, काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रणमा मुलुक नै केन्द्रित छ । प्राप्त विवरणमा शनिवारसम्म ७५ जिल्लाले निषेधाज्ञा जारी गरी अत्यावश्यक बाहेकका गतिविधि रोक्दै संक्रमण तोड्ने प्रयास गरिरहेका छन् । त्यसबाट केही सकारात्मक परिणाम देखिए पनि अझै संक्रमणदर नियन्त्रणमा आशातित उपलब्धि हुन सकिरहेको छैन । अहिले पनि दैनिक झण्डै आठ हजारको हाराहारीमा संक्रमित फेला परिरहेका छन् । निको हुने दरमा केही वृद्धि भइरहे पनि मृत्युदर अझै घट्न सकिरहेको छैन । मुलुकमा दैनिक १५० भन्दा माथि नै मानिसको ज्यान गइरहेको छ ।

कोरोनाको दोस्रो लहरको फैलँदो क्रमसँगै त्यसलाई नियन्त्रणका लागि निषेधको आदेश जारी गर्ने क्रम शुरु भएको एक महीना नाघ्यो । मुलुकका ७७ मध्ये दुई जिल्लाले अझै आदेश जारी नगरी नियन्त्रणको प्रयास गरिरहेका छन् । आदेश जारी नगरी नियन्त्रणको काम गरिरहेको जिल्ला तेह्रथुमले पनि शनिवार बिहानदेखि यही जेठ १४ गते राति १२ बजेसम्मका लागि जिल्लाभर नै निषेधाज्ञा लगाइसकेको छ ।

अब आदेश जारी नगर्ने जिल्लामा ‘खोटाङ र मनाङ’ छन् । ति जिल्लाले पनि संक्रमण नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । उक्त जिल्लाका अधिकारीहरूले स्वअनुशासन र स्वआइसोलेशनलाई जोड दिएर नियन्त्रणको प्रयास जारी राखेको जानकारी गराएका छन् । दोस्रो लहरको कोरोनासँग वैशाख ७ गते बाग्लुङबाट निषेधको आदेश जारी गर्न शुरु गरिएको थियो । वैशाख १६ गतेपछि यसरी आदेश जारी गर्ने क्रम बढेको थियो ।
आदेशपछि यस्तो छ तेह्रथुमको प्रयास 
लामो समयसम्म निषेधको आदेश जारी नगरी नियन्त्रणको प्रयासमा जुटेको तेह्रथुम जिल्ला अन्ततः निषेधाज्ञा जारी गर्न बाध्य भएको छ । संक्रमण दर बढ्दो क्रममा रहेकाले गएरातिदेखि आदशे लागू गरी कोभिड­१९ नियन्त्रणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले बताए । उक्त आदेश १४ गते रातिसम्मका लागि छ ।  त्यसपछि अवस्था हेरेर पुनःआदेश जारी गरिने छ । उनका अनुसार जिल्लामा कुल २२९ संक्रमितमध्ये ५३ जना निको भएका छन् । दुई जनाको मृत्यु भएको छ भने छ हाल सक्रिय संक्रमित १७४ छन् ।

‘पहिलेदेखि नै सचेतना र सावधानी अपनाइएकाले संक्रमणको जालो तोड्न सकिएको छ, विगतदेखि नै स्थानीय तहसँग समन्वय गरी सचेतनामूलक काम भएरहेका छन्, ६ ओटा स्थानीयतहसँग राम्रो समन्वय पनि छ, त्यसैले अहिलेसम्म हामी सफल छौँ’, प्रजिअ भण्डारीले भने ।  उनका अनुसार जिल्ला अस्पतालमा २८ सहित जिल्लामा ५३ ओटा अक्सिजन सिलिण्डर छ । अस्पतालमा १० ओटा शय्याको आइसोलेशन सेन्टर छ भने थप १० वेडको बनाउँदै गरिएको छ ।जिल्लामा चार ओटा  अस्पतालमा ४८ ओटा शय्यामा कोभिडका बिरामी राख्न सकिने व्यवस्था मिलाइएको उनले बताए । अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट आएको जानकारी दिइएको छ । (रासस)

Translate »