अनुशासन र आचरण विपरीतका अभ्यासले लोकतन्त्र कमजोरः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका मूल्य, मान्यता, अनुशासन  र आचरण विपरीतका अभ्यासले लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुद्धिबहादुर रायमाझीद्वारा लिखित ‘पञ्चायती जेलमा तेह्र वर्ष’ कृति लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री ओलीले अहिले केही मानिस देशभर छरिएको उज्यालो निभाउने प्रयासमा लागिरहेको भन्नुहुँदै विश्वासघातीहरू जहिले र जहाँ पनि हुने गरेको बताउनुभयो ।

 

प्रधानमन्त्री ओलीले रायमाझी मिलनसार, देश र जनताप्रति समर्पित तथा आफू जलेर अरूलाई उज्यालो दिने व्यक्तित्व भएको बताउनुभयो ।रायमाझीको प्रस्तुत संस्मरणमा उहाँले कारागार जीवनमा आर्जन गरेको ज्ञान प्रतिविम्बन भएको जनाउँदै प्रधानमन्त्री ओलीले ती निबन्धमा पर्याप्त मात्रामा विम्ब, प्रतीक तथा अभिव्यञ्जना रहेको बताउनुभयो ।

पुस्तकको समीक्षा गर्नुहुँदै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राजनीतिक स्वतन्त्रता प्राप्तिका लागि अग्रज पुस्ताले गरेका असाध्य कष्टपूर्ण सङ्घर्ष आजको पुस्ताले भुल्न नमिल्ने बताउनुभयो ।

कार्यक्रममा बुद्धिबहादुर रायमाझी स्मृति प्रतिष्ठानका सचिव तथा लेखककी धर्मपत्नी बिजुला रायमाझीले आफू पतिको पदचिह्न पछ्याउँदै देश र जनताका लागि दृढताका साथ अघि बढिरहने प्रण गर्नुभयो ।

Translate »