कोरोना सङ्क्रमण रोक्न गाउँ गाउँमा एन्टिजेन परीक्षण

दिपक शर्मा / सल्यान । दोस्रो चरणको भेरियन्ट सहितको कोरोना भाइरस समुदाय स्तरसम्म फैलिन थालेपछि जिल्लाका स्थानीय तहहरूले गाउँमै पुगी कोरोना परीक्षण गर्न थालेका छन् । समुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्न थालेपछि स्थानीय तहहरूले गाउँमै पुगी नागरिकको कोरोना परीक्षण गर्न थालेका हुन । छत्रेश्वरी गाउँपालिकाले प्रत्येक वडा एन्टिजेन परीक्षण, औषधी वितरण तथा परामर्श कार्यक्रम सञ्चालन गरी कोरोना सङ्क्रमितको पहिचान गर्दै आइरहेको छ ।
गाउँपालिकाका सात वटै वडाको पायक पर्ने स्थानमा शिविर सञ्चालन गरी कोरोना परीक्षण गर्दै आइरहेको गाउँपालिका अध्यक्ष शन्तोष केसीले बताए । पाँच वटा वडाका ३ सय ४६ जनामा गरिएको परीक्षणमा ६४ कोरोना पोजेटिभ देखिएको उनको भनाई छ । उनले भने, ‘समुदायमा फैलिएको कोरोनालाई नियन्त्रणमा लिन र नागरिकलाई कोरोना सङ्क्रमणबाट बचाउन यस प्रकारको अभियान सञ्चालन गरेका हौँ ।’ यस्तै बनगाड कुपिण्डे नगरपालिकाले पनि गाउँमै पुगी सङ्क्रमितको पहिचान गर्दै आइरहेको छ ।

घरघरमा पुगेर सङ्क्रमितको खोजी गर्ने, सङ्क्रमितलाई उपचारको पहुँचमा ल्याउने कामसमेत गरी रहेको बनगाड कुपिण्डे नगरपालिका उपमेयर मञ्जु यरीले बताए । उनले भने, ‘अहिले सङ्क्रमितको खोजी भइरहेको छ । सामान्य बिरामी भए पनि उपचार र एन्टिजेन परीक्षण गराउने काममा लागि रहेका छौँ ।’अहिलेसम्म ४, ५, ७, ८ र ९ वडाका नागरिकको स्वास्थ्य चेकजाँच गरिएको उनको भनाई छ । बाँकी वडाहरूको पनि नियमित रूपमा कोरोना परीक्षण हुने उनले बताए ।
कोरोना सङ्क्रमणको दायरलाई नियन्त्रणमा लिन घरघरमै पुगेर स्वास्थ्य परीक्षणका साथै कोरोना चेकजाँच गर्दै आइरहेको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । उनले भने, ‘जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीले रातदिन नभनी काम गरेर नियन्त्रणको प्रयास भइरहेको छ ।’ कोरोना सक्रमितहरुलाई औषधि उपचार गर्नुका साथै नियमित सम्पर्कमा राखेको उनले बताए । अक्सिजनको आवश्यकता पर्ने बिरामीहरूलाई गाउँपालिकाले निमार्ण गरेको आइसोलेसनमा राखिएको सामान्य बिरामीलाई सुरक्षित तरिकाले आफ्नै घरमा बस्न भनिएको अध्यक्ष केसीको भनाई छ ।