कोभिड रोकथामका लागि कर्णालीमा चिकित्सक परिचालन

सागर परियार / जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला दोस्रो लहरको कोभिड रोकथाम तथा नियन्त्रणका लागि सबैको भरोसाको केन्द्र बन्दै गएको छ । दोस्रो लहरको सङ्क्रमण रोकथामका लागि कर्णाली प्रतिष्ठानले कर्णालीका विभिन्न जिल्लामा विशेषज्ञ चिकित्सक परिचालन गरेको छ । साबिक कर्णालीको मुगु, कालिकोट, हुम्ला, डोल्पा र जुम्लाका आठै स्थानीय तह, पश्चिम रुकुम र बाँके जिल्लामा कर्णालीमा उत्पादित विज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी उपचारका लागि परिचालन गरिएको शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा।रमेश भट्टराई कोरोना विरुद्धको लडाइमा कर्णाली प्रतिष्ठानको झण्डै दुई दर्जन जनशक्ति परिचालन भएको बताए । उनका अनुसार कर्णालीको मुगुमा सहायक प्राध्यापक डा.सिद्धार्थ ध्वज खाती र मेडिकल अधिकृत डा.रेखा कार्की खटिएका छन् ।

कालिकोटमा सहायक प्राध्यापक डा.रिबिन खापुङ र डा.सुबि बस्न्यात, हुम्लामा सहायक प्राध्यापक डा।माणिक न्यौपाने र ओटि सहायक राजबहादुर खत्री, डोल्पामा लेक्चर डा.अभिसेक ठाकुर र सिनियर अहेब कर्मेन्द्र न्यौपाने खटिएका छन्। यसै गरी पश्चिम रुकुममा सह प्राध्यापक डा।अनुप मङ्गल समाल र लेक्चर सिला थापा खटिएकी छन्। बाँकेमा सह प्राध्यापक प्रवीण गिरीको नेतृत्वमा ६ जनाको चिकित्सक टोली पठाइएको छ । प्रतिष्ठानले जुम्लाका सबै स्थानीय तहमा रहेका कोभिड अस्पतालमा एक एक जना चिकित्सक खटाएर उपचार सेवा प्रदान गरिरहेको छ । पहिलो लहरको कोरोना नियन्त्रण र उपचारमा राम्रो भूमिका निर्वाह गरिरहेको कर्णाली प्रतिष्ठानले दोस्रो लहरमा पनि आफूलाई अब्बल साबित गर्न कसरत गरिरहेको छ । प्रवक्ता डा।रमेश भट्टराईले कोरोना नियन्त्रण र उपचारमा कुनै कसुर बाँकी नरहेको बताए । उनले भने,“पहिले सामान्य उपचारका लागि भतारिने कर्णालीले अहिले कोरोना महामारीको समयमा देशकै भरोसाको केन्द्रका रुपमा आफूलाई विकास गरेको छ ।”

प्रतिष्ठानमा छाती रोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आइसियु, २४ बेडको एचडियु, तथा ८४ शय्या गरी १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा। राजिव शाहले बताए । हाल अक्सिजन प्लान्टबाट र १ सय १० अक्सिजन सिलिण्डरले अक्सिजनको व्यवस्थापन भइरहेको छ । बिरामीको चाप बढ्दो क्रममा छ, उनले भने, “प्रदेश सरकारसँग समन्वय गरेर थप ३ सय ६० सिलिण्डर खरिद प्रक्रिया सुरु भइसकेको छ । केन्द्र सरकार सँगको समन्वयमा थप अक्सिजन प्लान्ट र बुस्टर खरिद गरी अक्सिजनको व्यवस्थापन गर्न लागि परेको छ ।” प्रतिष्ठानले पिसिआर जाँच, गाउँ गाउँमा चिकित्सक खटाउने कार्यलाई निरन्तरता दिइरहेको छ ।

Translate »