रोल्पामा आधुनिक हतियारको म्यागजीन र गोली फेला
घनश्याम के.सी./रोल्पा । रोल्पामा सुरक्षा निकायले शनिबार अपराह्न ठुलो परिमाणको आधुनिक हतियारको म्यागजीन र गोली फेला पारेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ३ रामपुरस्थीत सामुदायिक वन नजिकै रहेको बाँसको घारीझाङबाट प्लास्टिकमा पोको पारी बासको पातले ढाकेर लुकाई राखेको अवस्थामा ठुलो परिमाणमा अत्याधुनिक हतियारका म्याग्जिन र गोली भेटिएको हो । रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार एसएमजीको म्यागजीन २३ थान, एम १६ को म्यागजीन १ थान, एलएमजीको म्यागजीन १ थान बरामद भएको हो । त्यसैगरि एके ४७ को गोली ७ सय ५२ थान, ७ पोइन्ट ६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली फेला पारी नियन्त्रणमा लिएको हो । उक्त स्थानमा हतियार रहेको गोप्य सूचना दक्षिण रोल्पाको दहबनमा रहेको बटुक दलगुल्मसम्म पुगेको नेपाली सेना रोल्पाले बताएको छ । रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार बरामद गरिएका हतियार धेरै पुरानो नभएर नयाँ जस्तो देखिएको छ द्वन्द्वकालीन हतियार हो होइन कसरी आयो भन्ने बारे अनुसन्धानको क्रममै रहेको सुबेदीले जानकारी गरे। रोल्पामा पटक पटक ठुलो परिमाणमा हतियार बरामद हुने गरेको छ । गएको वर्ष असोजमा नेपाली सेनाले ठुलो परिमाणमा हतियार फेला पारेको थियो ।