आईसोलेशनमा उपचारत कोरोना संक्रमितलाई निःशुल्क ‘अमृत भोजन’

कोरोना विरुद्धको लडाईमा प्रदेश आयुर्वेद औषधालय अग्रपंत्तिमा


स्काई न्यूज/ जेठ ९, सुर्खेत ।
प्रदेश आयुर्वेद औषधालय सुर्खेतको कोभिड–१९, आईसोलेशनमा रहेका कोरोना संक्रमित विरामीका लागि निःशुल्क अमृत भोजन (पथ्याहार) अभियान सञ्चालनमा ल्याईएको छ । जिल्लामा क्रियाशील विभिन्न स्वयसेवी संघस्ांस्थाको सहयोगमा नेपालमै पहिलो पटक आईसोलेशनमा उपचारत कोरोना संक्रमितसँगै कुुरुवालाई निःशुल्क अमृत भोजन खुवाउने अभियान सञ्चालनमा ल्याईएको हो । रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका स्थानीय स्तरमै उत्पादित अर्गानिक खाद्यान्नबाट बनेका भोजन दैनिक ३ पटक निःशुल्क खुवाउँदै आईएको अमृत भोजन (पथ्याहार) अभियानका संयोजक अनिल ढकालले बताए । उनले विभिन्न नागरिकबाट स्वैच्छिकरुपमा संकलन गरिएको आर्थिक सहयोगबाट आईसोलेशनमा उपचारत कोरोना संक्रमितका लागि अमृत भोजन (पथ्याहार) अभियान सञ्चालन गरिएको जनाए । उनका अनुसार अमृत भोजन (पथ्याहार) अभियानमा मोटे ग्याङ्ग, तनाव छ जीन्दगी, जीवन विज्ञान संस्था, सेल्फ हेल्थ समूहलगायतको सहयोग रहेको छ ।

यता प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले औषधालय परिसरमा भोजनालयको व्यवस्था नहुनु र निषेधाज्ञाका कारणले आईसोलेशनमा उपचारत विरामीका लागि टाढा–टाढाबाट खाना बोकेर ल्याउन समस्या भएकाले विभिन्न स्वयंसेवी संघसंस्था र कार्यालयको सहयोगमा निःशुल्क अमृत भोजन (पथ्याहार) अभियान सञ्चालन गरिएको बताए । उनले स्थानीय स्तरबाटै उत्पादित अर्गानिक खाद्यान्नबाट बनेका रोगप्रतिरोधात्मक क्षमता बढाउने खालका भोजनहरु कोरोना संक्रमित विरामीसँगै कुरुवालाई उपलब्ध गराईएको जनाए । ‘डाक्टरहरुको सरसल्लाह र परामर्शबाटै तयार पारिएका पौष्ठिक आहारहरु कोरोना विरामीसँगै कुरुवालाई समेत व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘औषधालयको समन्वयमा उपलब्ध निःशुल्क स्वच्छ आहार विहारले एक दर्जन बढी कोरोना संक्रमित विरामी निको भएर घर फर्किसकेका छन् ।’

उनले औषधालयको प्राकृतिक वातावरणमा सञ्चालित आईसोलेशनमा दिनहुँ कोरोना संक्रमित निको भएर घर जाने र थपिनेक्रम जारी रहेको बताए । उनका अनुसार हाल १५ शैयाको आईसोलेशनमा केही सिकिस्त विरामीका लागि अक्सिजनको नियमित आपूर्तिमा समस्या कायम रहेको छ । औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले देशमै पहिलो पटक आईसोलेशनमा उपचारत कोरोना संक्रमित विरामीसँगै कुरुवालाई निःशुल्क भोजनसँगै रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि तथा चिया नास्ताको व्यवस्था गरिएको जानकारी दिए । उनले औषधालयको आइसोलेशनमा उपचारत विरामीले सुर्खेतसँगै कर्णालीका अन्य जिल्लाका कोरोना संक्रमित विरामीले औषधि, भोजन तथा जीवन जिउने कलालगायतका बारेमा जानकारी निःशुल्क प्राप्त गरिएको बताए । प्रदेश आयुर्वेदद्वारा सञ्चालित कोरोना विरुद्धको लडाईमा कर्णाली प्रदेश सरकार, मनकारी व्यक्त्विहरुसँगै विवेकशिल साझा युवा संगठनले साथ दिईरहेको उनको भनाइ छ ।

Translate »