संघद्वारा आईसोलेशनका कोरोना संक्रमितलाई औषधि तथा स्वास्थ्य सामाग्री सहयोग

स्काई न्यूज /जेठ ९, सुर्खेत ।
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ कर्णाली प्रदेशले आईसोलेशनमा उपचारत कोरोना संक्रमित विरामीका लागि औषधि तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संघले आइतबार प्रदेश आयुर्वेद औषधालय सुर्खेत परिसरमा सञ्चालित प्राकृतिक वातावरणसहितको आईसोलेशनमा उपचारत विमारीका लागि करिब ५२ हजार बढी मूल्यको रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधिसहित स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
नेपालमै पहिलो पटक सुर्खेत स्थित प्रदेश आयुर्वेद औषधालय परिसरमा सञ्चालित प्राकृतिक वातावरणसहितको आईसोलशनमा उपचारत कोरोना संक्रमित विरामीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सानो सहयोग भएपनि केही राहत पुगोस् भन्ने उद्देश्यले औषधि तथा स्वास्थ्य सामाग्री सहयोग गरिएको संघका कर्णाली प्रदेश अध्यक्ष पूर्णप्रसाद आचार्यले बताए । उनले कोरोना रोकथाम तथा नियन्त्रणमा आयुर्वेद औषधिको प्रभावकारिता र महत्व बढिरहेका बेला संघले संक्रमितलाई विरामीबाट छिटो राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाए ।

‘प्रदेश आयुर्वेद औषधालय र नेपाल आयुर्वेद औषधि व्यवसायी संघ वीच नङ र मासुको सम्बन्ध रहि आएको छ,’ उनले भने, ‘आयुर्वेदको प्रभावकारिताका बारेमा कर्णाली जस्तो जडिबुटीको धनि प्रदेशमा औषधि विक्री गर्नु मात्र नभई आम नागरिकलाई आयुर्वेदको प्रयोग र महत्वका बारेमा बुझाउन समेत प्रयासरत छौं ।’ उनले हरेक विरामीका लागि प्रारम्पारिक भएपनि आयुर्वेदको महत्व हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने विश्वास व्यक्त गरे । आगामी दिनमा समेत कोरोना रोकथाम तथा नियन्त्रणका लागि आर्युेदवको महत्वलाई बुझेर औषधि तथा स्वास्थ्य सामाग्री थप सहयोग गरिने उनको भनाइ थियो ।
संघद्वारा सहयोग गरिएको औषधि तथा स्वास्थ्य सामाग्री बुझ्दै औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रेग्मीले कोरोना रोकथाम तथा नियन्त्रणमा संघको समेत भूमिका उच्च रहेकाले जवाफदेहितासहित महामारीबाट सृजित संकटविरुद्ध हरेक मोर्चामा औषधालयसँग सहकार्य गर्न आग्रह गरे । उनले संसारमा मानव सेवा भन्दा ठूलो अरु कुनै धर्म नभएकाले कोरोना महामारी विरुद्धको अभियानमा संघले पैसाको मूल्य, मान्यता भन्दा माथि उठेर सामाजिक उत्तरदायित्व बढाउन सुझाव दिए ।
औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले अरुको भलाईमै आफ्नो भलाई लुकेकाले महामारीका बेला मानविय मूल्य मान्यतालाई प्राथमिकता दिँदै मानव सेवामा जुट्न आग्रह गरे । उनले कोरोनाको विश्वव्यापी संकटका बेला आयुर्वेद औषधि विक्रेताद्वारा आईसोलेशनमा उपचारत विरामीलाई गरेको औषधिजन्य वस्तुको सहयोगले ठूलो राहत पुग्ने बताए । औषधि तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा संघका केन्द्रिय सदस्य तथा प्रदेस संयोजक एवं सुर्खेतका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।