१७० ओटा देशमा नेपालको कूटनीतिक सम्बन्ध विस्तार
जेठ ११, काठमाडौं । नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग मंगलवार दौँत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० ओटा मुलुकमा फैलिएको हो ।
कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि/राजदूत अमृतबहादुर राई र उक्त विश्वसंस्थाका लागि गाम्बियाका स्थायी प्रतिनिधि/राजदूत लाङ यावौले राष्ट्रसंघका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा मंगलवार बिहान आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको जनाउ दिने संयुक्त जानकारीपत्रमा पनि दुवै राजदूतले हस्ताक्षर गरेको उक्त नियोगले जानकारी दिएको छ ।
त्यस अवसरमा दुवै देशका स्थायी प्रतिनिधिले पारस्परिक हितका खातिर राष्ट्रिय तथा बहुपक्षीय मञ्च, विशेष गरी राष्ट्रसंघमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा विचार आदानप्रदान गरेका थिए । (रासस)