संवैधानिक व्यवस्था अनुसार बजेट आएको हो, कार्यान्वयन हुन्छ : अर्थमन्त्री

जेठ १६, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संवैधानिक व्यवस्थाअनुसार नै पूर्ण आकारको बजेट प्रस्तुत गरेको बताएका छन् ।

अर्थ मन्त्रालयद्वारा आइतवार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार नै बजेट प्रस्तुत भएको बताए । उनले यो बजेट कार्यान्वयन भएरै छाड्ने पनि दाबी गरेका छन् ।

‘बजेट कार्यान्वयन गर्ने उद्देश्यका साथ आएको छ, सुनाउनका लागि मात्रै बजेट ल्याएको होइन’, उनले भने ।

उनले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन सक्नेगरी बजेट प्रस्तुत गरिएको पनि बताए । उनले बजेट कार्यान्वयनका लागि भोलिदेखि नै लागिपर्ने र
विषयगत मन्त्रालयसँग छलफल शुरु गरिने बताए ।

मन्त्री पौडेलले कोडिभ–१९ रोकथाम, उपचार र नियन्त्रणमा बजेट केन्द्रित रहेको बताए । उनले छिटोभन्दा छिटो खोपको प्रबन्ध गर्नेतर्फ सरकार क्रियासिल रहने भन्द कोडिभ नियन्त्रण र उपचारमा सरकारले सम्पूर्ण सामर्थ प्रयोग गर्ने पनि बताए ।

उनले दक्षिण एशियामा खोप प्रयोग गर्ने दोस्रो मुलुक नेपाल रहेको धारणा राख्दै सबै नागरिकलाई खोप दिने देशमा पनि अग्रपंक्तिमा हुने दावी गरे ।

Translate »