एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

दीपक शर्मा / सल्यान । झन्डै २३ वर्षपछि सञ्चालनमा आएको झिम्पे पाथिभारे रिपिटर टावर एक महिना नपुग्दै अवरुद्ध भएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ झिम्पेमा रहेको रिपिटर टावरमा चट्याङ परेपछि टेलिफोन सेवा अवरुद्ध भएको हो ।
गत वैशाख १९ गते बिहान परेको चट्याङले ट्रान्सफर्मर लगायतमा अन्य सामान जलेपछि टेलिफोन सेवा अवरुद्ध भएको छत्रेश्वरी गाउँपालिका–४ का वडाध्यक्ष नेव बहादुर खड्काले बताए।
उनले भने, ‘२३ वर्षसम्म बन्द रहेको टावर सञ्चालनमा आएपछि सञ्चार सेवामा जोडिएको एक महिना नपुग्दै सञ्चार सुविधाबाट वञ्चित हुनु परेको छ ।’
टेलिफोन सेवा अवरुद्ध हुँदा सल्यानका छत्रेश्वरी, त्रिवेणी, सिद्ध कुमाख, कपुरकोट गाउँपालिका र बागचौर नगरपालिका, रोल्पाको गङ्गादेव गाउँपालिका, त्रिवेणी गाउँपालिका लगायतका रुकुम पश्चिमका सेवाग्राही समस्यामा परेका छन् ।
अवरुद्ध रिपिटर टावर मर्मतको काम भइरहेको र अबको केही दिनमा नै टावर सञ्चालनमा आउने दूरसञ्चार कार्यालय सल्यानका प्रमुख युद्ध बहादुर केसीले बताए ।
‘सुरुमा ट्रान्सफर्मर क्षति भएको छैन भनेर अन्य सामान मात्र मर्मत गरियो तर ट्रान्सफर्मर पनि जलेको रहेछ नेपालगन्जबाट हामीले माग गरेका छौँ’ उनले भने। नेपालगन्जबाट ट्रान्सफर्मर आए लगत्तै टावर सञ्चालनमा आउने उनको भनाई छ ।

Translate »