कर्णालीका नवनियुक्त २ मन्त्रीद्वारा सपथ ग्रहण

 

स्काई न्यूज / जेठ २३, सुर्खेत
कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार काँग्रेसबाट दुई जना मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका हुन् । प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आइतबार एक समारोहका वीच सामाजिक विकास मन्त्रीमा बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

सपथग्रहण समारोहमा मुख्यमन्त्री शाही, सभामुख राजबहादुर शाहीलगायतका उच्च पदस्थ अधिकारीहरुको उपस्तिथि रहेको थियो । गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिएपछि काँग्रेसका तर्फबाट दुई जना मन्त्री नियुक्त गरिएको हो । २०७४ को निर्वाचनपछि कांग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गरेको छ । कर्णाली सरकारमा अहिले माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ३ जना र एमालेबाट ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका ३ जनासँगै काँग्रेसबाट २ जना छन् । हाल ३५ सदस्य रहेको प्रदेश सभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । कांग्रेस सत्ताधारी भएसँगै सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित हुने करिब निश्चित भएको छ ।

Translate »