स्काई न्यूजका पत्रकार कोरोना जित्न सफल
स्काई न्यूज/ जेठ २६, सुर्खेत ।
स्काई न्यूज दैनिकका पत्रकार र कर्मचारी कोरोना जित्न सफल भएका छन । समाचार संकलन एवं पत्रिका प्रकाशनको क्रममा जेठ २ गते कोरोना संक्रमण पुष्टि भएका ३ पत्रकारसहित ३ जना कर्मचारीको रिर्पोट नेगेटिभ आएपछि कोरोना जित्न सफल भएका हुन् ।
दैनिकका प्रबन्ध निर्देशक डिलबहादुर खत्रीले संकटको यस घडीमा जोखिम मोलेर नागरिकलाई सूचना प्रवाहका लागि अघोरात्र खटिएका पत्रकार र कर्मचारीले कोरोना जित्न सफल भएको बताए । उनले २४ दिन होम आईसोलेशनमा बस्दा समेत सूचना प्रविधिको अधिकतम् उपयोग गर्दै घरबाटै नागरिकलाई सुसूचित गर्ने कार्यलाई निरन्तरता दिन सफल भएको समेत जानकारी दिए ।
‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट प्रभावित स्काई न्यूजका पत्रकार र कर्मचारीले उच्च मनोवल बनाएकै कारणले कोरोना जित्न सफल भएका हुन्,’ उनले भने, ‘कोरोना संक्रमित हुँदा समेत स्काई न्यूजका पत्रकार र कर्मचारीले आत्मबल बलियो बनाउँदै पत्रिकाको नियमित प्रकाशन कार्यलाई निरन्तरता दिन सफल भएका छन् ।’ उनले दैनिकका पत्रकार र कर्मचारी कोरोना संक्रमित हुँदा पत्रिकालाई नियमित बनाई राख्न प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
यता कोरोना संक्रमित पत्रकार पार्वती बयकले उच्च मनोबल बनाउन सके सजिलै कोरोना जित्न सकिने बताईन् । उनले राम्रो खान पान, नियमित व्याम, गुर्जो र बेसार पानीले कोरोना जित्न सफल भएको जनाईन् । उनका अनुसार सकारात्मक सोचका साथ आत्मबल बलियो बनाउँदै नियमित साबुन पानीको प्रयोग, मास्कको प्रयोगसँगै सामाजिक दुरी बनाउने तर्फ बढी ध्यान दिनु पर्छ ।
दैनिकका कोरोना संक्रमित पत्रकार एवं कर्मचारीलाई कुनै लक्षण नदेखिएको उनको भनाइ छ । दैनिकका अर्का पत्रकार अनिता विकले संक्रमितलाई रोगको डर भन्दा पनि समाजको डर बढी हुने भएकाले आफ्नो हेर्ने दृष्टिकोण फराकिलो बनाउँदै उच्च मनोबल बनाई राख्नु पर्नेमा जोड दिईन् ।