सुर्खेतमा अघोषित लोडसेडिङले उपभोक्ता आजित

अनियमित विद्युतको महसुल नतिर्ने सुउवा संघको चेतावनी


स्काई न्यूज /जेठ २६, सुर्खेत ।
सुर्खेतमा गर्मी बढ्दै गएको छ । गर्मी बढ्ने र विद्युत अनियमित हुँदा कोरोनाले आजित नागरिकको दैनिकीलाई प्रभावित बनाएको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाले घरमै बस्न बाध्य नागरिलाई अनियमित विद्युतले थप जाजित बनाएको हो । छिन–छिनमा बत्ती गइरहने र आएपनि कम भोल्टेजले गर्दा उपभोक्तालाई हैरान बनाएको छ । गर्मीमा विद्युत अनियमितता, विद्युत आएपनि कम भोल्टेज र लामखुट्टेको बिगबिगीले गर्दा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको बसाई कष्टकर बन्दै गएको छ । ‘दैनिक काम गरेर खानु पर्ने वर्गलाई सास्तीमात्रै होइन, पीडा नै दिएको छ ।

‘गर्मीले निषेधाज्ञाका बेला घरमा बसि सक्नु हुँदैन् । रोडमा निस्के प्रहरीले दौडाउँछन,’ वीरेन्द्रनगरका सोनेलाल सुनारले भने, ‘घरमा गर्मीले बसिसक्नु हुँदैन, अनि ! जाऊँ त कहाँ जाऊँ ? ।’ उनले अलिकति हावाहुरी चल्ने वित्तिकै बत्ति नै गुम हुने सुर्खेतमा विद्युत प्राधिकरणको चरम लापरवाही रहेको बताए । उनका अनुसार अघोषित लोडसेडिङका कारण उपभोक्ताले सास्ती भोग्र्दैै आईरहेका छन् । लोडसेडिङ नभए पनि छिनछिनमै विद्युुत् जाने समस्याले उपभोक्ता मात्र होइन, स्वयं विद्युतका कर्मचारी नै हैरान छन् । लोडसेडिङ छैन तर विद्युुत् पनि छैन । ‘कतिबेला विद्युुत् आउँछ, बिजुुली कतिबेला जान्छ ठेगानै हुुँदैन’, वीरेन्द्रनगर–१०, का श्यामभक्त आचार्यले भने, ‘सामान्य हावा चल्नेबित्तिकै बत्ती जान्छ, कति बेला आउँछ पत्तै हुुँदैन ।’

विद्युुत् प्राधिकरणले न उपभोक्तालाई विद्युुत् जाने सूचना दिन्छ न आउने जानकारी नै । छिनछिनमै विद्युुत् जाँदा सरकारी कर्मचारी र सञ्चारकर्मी निकै मारमा छन् । ३३ केभीएको कोहलपुुर स्टेसनबाट धेरै ठाउँमा विद्युुत् वितरण भएको हुुँदा समस्या आएको प्राधिकरणकै कर्मचारी बताउँछन् । विद्युत वितरण केन्द्रका अनुसार कोहलपुुरदेखि सुर्खेत आउने ३३ केभीए प्रसारण लाइन निकै पुुरानो भएकाले समस्या हुुने गरेको छ । ‘नयाँ एक सय ३२ केभीए लाइन नबन्दासम्म यो समस्या यस्तै भइरहने छ,’ विद्युतका एक कर्मचारीले भने, ‘पुरानो विद्युत वितरण संरचना भएकाले प्राविधिक समस्या आउँदा विद्युत काट्नु परेको हो ।’ उनले लो भोल्टेज भने उतैबाट आउने गरेको बताए । ‘भोल्टेज उतैबाट कम आउँछ । त्यसले हामीलाई समस्या पारेको छ,’ उनले भने, नयाँ ट्रान्सफर्मर जडान गर्दै गरेको र सडकमा काम भइरहेकाले केही दिन यता बत्ती अलि बढी जाने आउने भएको छ ।’

अनियमित विद्युतको महशुल नतिर्ने
यता सुर्खेत उद्योग वाणिज्य संघले नियमित रुपमा विद्युत आपूर्ति गर्न विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । संघले अनियमित विद्युत समस्या तत्काल समाधान हुन नसके विद्युतको महशुल नतिर्ने, विद्युतको कार्यालय घेराउ गर्ने सम्मको चेतावनी बुधबार प्रेस विज्ञप्ति मार्फत दिएको हो । ‘प्रादेशिक राजधानी जस्तो ठाउँमा दिनहुँजसो विद्युत अनियमित भइरहनु, र दिन बिराएर घण्टौंसम्म विद्युत आपूर्ति नै ठप्प भइरहनुले प्रदेश प्रमुखदेखि मुख्यमन्त्री, मन्त्री, सांसद समेत बस्दै आएको राजधानीको दुरावस्था उदाङ्गो मात्र पारेको छैन्, विद्युत प्राधिकरणको प्राविधिक असक्षमता र लापरवाहीको पराकाष्ठा समेत पार गरेको संघको ठम्याई छ,’ विज्ञप्तिमा भनिएको छ ।’

संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कंडेलले जारी गरेको विज्ञप्तीमा छिन–छिनमा विद्युतमा आउने–जाने समस्याका कारण घरायसी तथा उद्योग, कलकारखानाका मेसिनमा अनावश्यक गडबडी उत्पन्न भई थप आर्थिक व्ययभार खेप्नु परिरहेको छ । कोरोना संक्रमित रहेका अस्पताल, स्वास्थ्य संस्थाहरुमा रहेका अक्सिजन उत्सर्जनमा झनै समस्या हुने गरेप्रति समेत संघले ध्यानाकर्षण गराएको छ । नेपालमै सबैभन्दा बढि विद्युत आपूर्ति अनियमित र ठप्प हुने जिल्ला सुर्खेत रहेको भन्दै संघले विद्युतको दीर्घकालीन योजना बनाएर तुरुन्त कार्यान्वयनमा जाने बिषयमा प्रदेश सरकारलाई आग्रह गरेको छ ।

‘कोहलपुर केन्द्र विन्दुको अन्त्य हुनुपर्छ’
सुर्खेतका साथै जाजरकोट, दैलेख, सल्यान र पश्चिम रुकुुमको कुुनै पनि ठाउँमा विद्युुतमा कुुनै खराबी आए सीधै कोहलपुुर स्टेसनबाटै विद्युुत् बन्द हुुने गरेको छ । यी पाँच जिल्लावासी अघोषित लोडसेडिङको सास्ती खेप्न बाध्य छन् । कतिपय अवस्थामा मर्मतमा ढिलाइ हुुने र कतिपय अवस्थामा सिस्टमले नै काम नगर्दा समस्या हुुने गरेको विद्युत प्राधिकरणको भनाइ छ ।

हिजोआज सुर्खेत, दैलेख, जाजरकोटमा दैनिक २० औं पटकसम्म विद्युुत् अवरुद्ध हुुने गरेको छ । ग्राहक साँझपखको कम भोल्टेजका कारण थप समस्या भोग्न बाध्य छन् । सरकारले कर्णाली प्रदेशका विभिन्न जिल्लाका लागि सुुर्खेतको सुुब्बाकुुनामा विद्युुत् वितरण स्टेसन बनाउने तयारी गरेको बताईएपनि विगत ७ वर्षदेखि कोहलपुर–सुर्खेत एक सय ३२ केभीए प्रसारण लाईन विस्तारको काम अहिलेपनि प्रक्रियामै रहेको सम्बन्धहरु बताउँछन् । कर्णाली प्रदेशमा आउने विद्युत प्रसारण लाईनको कोहलपुर केन्द्र विन्दुलाई अन्त्य गरि अब सुर्खेतमै निर्माण गर्नुपर्ने नागरिकको माग छ ।

Translate »