उन्नत जातको धान खेतीतर्फ दैलेखका किसानको आकर्षण बढ्दै

जेठ २७, दैलेख । पछिल्लो समय स्थानीय रैथाने जातका धान रोप्न छाडेर किसानले उन्नत जातका धान रोप्न थालेका छन् । दैलेख जिल्लाका अधिकांश खेतमा किसानले पुरानो रैथाने जातका धान डेरादुने, झ्याले, भुरसाले, गुणे र कालेगुणे लगायतका रोप्ने गर्दथे ।

पछिल्लो समय किसानले यी सबै पुराना जातका धान छाडेर उन्नत जातका धान लगाउन थालेका छन् । नारायण नगरपालिका–२ का किसान हरि थापाले रैथाने धान रोप्न छाडेको दुई वर्ष भएको बताए ।

पहिले स्थानीय जातको धान लगाउने भए पनि आफूले अहिले छाडेको बताए । उनले पुरानो धान कम फल्ने अनि मेहनत बढी गर्नुपर्ने भएकाले उन्नत जातको धान लगाउने गरेको जानकारी दिए ।

पछिल्लो समय रैथाने जातका धान लगाउनेको संख्याभन्दा उन्नत जातको धान लगाउनेको संख्या ह्वात्तै बढेको छ । कम सिँचाइमा धेरै उत्पादन हुने र गोड्न पनि नपर्ने हुँदा पुरानो धानभन्दा उन्नत जातका धान लगाउनतर्फ किसानको आकर्षण बढेको किसान ललित रिजालले बताए ।

महाबु गाउँपालिकाका कृषि प्राविधिक सूर्य न्यौपानेले स्थानीय जातको धानमा उत्पादन बढाउन नसक्नु, यसको फाइदाबारे जानकारी गराउन नसक्नु र संरक्षणमा ध्यान दिन नसकेका कारण लोप हुने खतरा बढेको बताए । अहिले किसानले युएस–३१२, युएस–३०५, युएस शंकरलगायतका उन्नत जातका धान बजारबाट खरीद गरी लगाउने गरेका छन् । आफ्नो पसलबाट मात्रै ४० क्विन्टल बीउ विक्री गरेको किसान एग्रोभेट दैलेखका सञ्चालक कनक खड्काले जानकारी दिए ।

दैलेखका नौमुले, डुङेश्वर, राकम कर्णाली, भैरवी, पादुकालगायतका सेराखेतमा रैथाने गुणे र कालो गुणे लगाइने भए पनि यस वर्ष त्यहाँ पनि किसानले रैथाने जातका धान नलगाउने सम्भावना बढेको भण्डारीले आशंका व्यक्त गरे ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलक पाण्डे रैथाने बाली प्रवर्द्धनका लागि अनुदानसमेत दिने गरिएको बताउँछन् । ‘किसानको पुरानो धान खेतीमा आकर्षण नहुनु भनेको प्रवर्द्धन गर्न नसक्नु नै हो, सबैभन्दा उत्पादन कम हुनु हो, यसका लागि अरुभन्दा किसान नै बढी लाग्नुपर्छ’, उनले भने ।

जिल्लाको कुल खेतीयोग्य जमिन ४१ हजार १३१ हेक्टर रहेको छ भने त्यसमध्ये छ हजार ५१७ हेक्टर जमिनमा धानखेती गर्ने गरेको पाण्डेले जानकारी दिए । अहिले ६० प्रतिशत किसानले उन्नत जातका धान रोप्ने आँकलन गरिएको छ । (रासस)

Translate »