प्रदेश आयुर्वेदका डाक्टर शंकरमाथि हातपात

तीन जना असामाजिक तत्व पक्राउ

स्काई न्यूज/ जेठ २७, सुर्खेत ।
प्रदेश आयुर्वेद औषधालय सुर्खेतका डाक्टरमाथि हातपात गर्ने तीन जना पक्राउ परेका छन् । बिहीबार साँझ ६ बजेतिर घर फर्किने क्रममाा अपरिचित युवाहरुको समूहले औषधालयका दुई जना डाक्टर र एक जना बैद्यमाथि हातपात गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मदिराले मातिएका अराजकतत्वहरुले औषधालयका डाक्टरहरुमाथि आक्रमण गरेको सूचना पाएको आधा घण्टाभित्रै प्रहरीले तीन जनालाई पक्राउ गरि आवश्यक कार्वाही शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रामचन्द्र घर्तीले जानकारी दिए ।

उनले औषधालयका डाक्टर शंकरप्रसाद रिजाल, डाक्टर यादव उपाध्याय र बैद्य लोकप्रसाद रेग्मीमाथि हातपात भएको बताए । उनका अनुसार बाहिरबाट हेर्दा सामान्य घाइते देखिएपनि डाक्टर एवं बैद्यलाई विशेष जाँच एवं उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पठाईएको छ ।

उनले प्रदेश आयुर्वेद औषधालयका डाक्टर तथा बैद्यमाथि हातपात गर्ने तीनै जनाले मदिरा सेवन गरेको पाईएको बताए । प्रारम्भिक अनुसन्धानबाट डाक्टर तथा बैद्य माथि हातपात गर्नुको कुनै खास कारण नदेखिपनि थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएकाले छिट्टै रहस्य खुल्ने उनले बताए ।

यता प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले कोरोना संक्रमितको उपचारमा रातदिन खटिरहेका औषधालयका डाक्टर तथा बैद्यमाथिको हमला नियोजित भएको जनाए । उनले विना कारण डाक्टर एवं बैद्य माथि हमला गर्ने अपराधीलाई अधिकतम् सजाए हुन नसके चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाईने चेतावनी दिए ।  घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न सम्बन्धित पक्षसँग उनको माग छ ।

Translate »