छुटमा चामल किन्नेको भीड

बाजुरा : खाद्य संस्थान बाजुरा शाखाले बिक्री मूल्यमा २० प्रतिशत छुट गरेर बिक्री सुरु गरेपछि चामल किन्नेको निकै घुुइँचो लागेको छ। देशभरका खाद्य संस्थानको डिपोबाट लकडाउनलाई मध्यनजर गर्दै जेठ २३ गतेबाट चामल बिक्री मूल्यमा २० प्रतिशत छुुट गर्ने निर्णय गरेको थियो। खाद्य संस्थान बाजुरा शाखा, कोल्टी शाखा र कवाडी बिक्री केन्द्रमा जेठ २३ गतेबाट २० प्रतिशत छुुटमा चामल बिक्री सुरु गरिएको खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेघराज ओझाले बताए।

 

सरकारले चामलमा छुुट दिएपछि बाजुरामा रहेका संस्थान डिपोमा चामल किन्नेको निकै भीड लागेको छ। मोटो चामल प्रतिकिलो ४५ रुपैयाँमा बिक्री गर्ने संस्थानले अहिले प्रतिकिलो ३६ मा बाजुरामा बिक्री भइरहेको संस्थान शाखा प्रमुख ओझाले कताए। एक जनालाई ३० किलोको १ बोरा चामल दिने गरेको संस्थानले जनाएको छ। उक्त चामल मार्तडीमा प्रतिकिलो ५० रुपैयाँ, कोल्टीमा प्रतिकिलो ५५ र कवाडी डिपोमा प्रतिकिलो ६० भन्दा बढी मूल्यमा बिक्री भइरहेको छ। तर संस्थानको चामल  प्रतिकिलो ३६ रुपैयाँमा बिक्री गरिरहेका भइरहेकोले सर्वसाधारणको घुइँचो लागेको हो।  २० प्रतिशत छुटमा चामल किन्न पाउँदा राहत भएको बडिमालिका—९ का स्थानीय डबले विकले बताए। हिमाली गाउँपालिका— ४ का बिर्खलाल बुढाले बजारमा प्रतिकिलो ६० भन्दा महँगो दरमा चामल किन्ने गरेकोमा संस्थानमा प्रतिकिलो ३६ मा पाउँदा खुसी लागेको बताए।

शखामा २५ सय क्विन्टल चामल मौज्दात छ। सुरुमा चामल किन्न नआए पनि छुट दिएपछि दैनिक ७० क्विन्टलभन्दा बढी चामल बिक्री भइरहेको खाद्य प्रमुख ओझाले बताए। लकडाउनको समयमा बिहान ७ बजेदेखि ९ बजे सम्ममात्र बिक्री गर्ने गरेको छ। संस्थानले चामलमा छुट दिएपछि संस्थानमा चामल किन्नेको निकै लर्को लागेको छ। निषेधाज्ञाको समयमा काम नपाएर घरमै बसेका सर्वसाधारण जनताको लागि ठूलो राहत पुगेको नागरिक समाजका अगुवा लक्ष्मी राजपाध्यायले बताए।(अन्नपूर्ण पोस्ट)

Translate »