गुर्भाकोटमा आयुर्वेद सेवा केन्द्र सञ्चालन

स्काई न्यूज /असार ३, सुर्खेत ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा ‘नागरिक आरोग्य सेवा केन्द्र’ सञ्चालनमा ल्याईएको छ । स्वास्थ्य व्यक्तिको स्वास्थ्य रक्षा गर्ने र रोगी व्यक्तिको उपचार गर्ने उद्देश्यले नगरपालिकाको दहचौरमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको हो । नगरपालिकाले बुधबार दहचौर स्थित आफ्नै पुरानो स्वास्थ्य भवनमा औपचारिक कार्यक्रमको आयोजना गरि नगरप्रमुख हस्त पुनले केन्द्रको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख पुनले आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको चासो र माग शुरुदेखि नै रहिआएकाले आफ्नै स्रोत साधनबाट नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको बताए । उनले गुर्भाकोटमा आयुर्वेद सेवा केन्द्र मात्र होइन, कम्तीमा १५ शैयाको आयुर्वेद चिकित्सालय नै खोल्ने लक्ष्य रहेको जनाए । उनका अनुसार आयुर्वेदको विकास तथा उन्नयनका लागि नगरपालिका सदैव तयार रहेको छ ।

नगर उप–प्रमुख मैना विकले आयुर्वेद उपचार पद्धतीमा विश्वास राख्ने नागरिकलाई अब आयुर्वेद सेवा लिनका लागि भेरीगंगा नगरपालिकाको मैनतडा र सदरमुकाम वीरेन्द्रनगर पुग्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीले साढे तीन लाख रुपैयाँमा केन्द्रको भवन मर्मत, औषधि खरिदसँगै दुईजना जनशक्तिबाट सेवा शुरु गरिएको जनाए ।

‘आयुर्वेदको कुनै पनि पहुँच नपुगेको गुर्भाकोट नगरपालिकाका विभिन्न जंगलमा पर्याप्त जडीबुटी भएपनि शोध, अनुसन्धानको अभावमा त्यत्तिकै खेर गइरहेका छन्,’ उनले भने, ‘हाललाई आयुर्वेद उपचार केन्द्र स्थापना भएपनि यहाँका नागरिकले अब आयुर्वेदको महत्व, जडीबुटीको पहिचान र प्रभावका बारेमा जानकारीका साथै स्वास्थ्य लाभ समेत पाउनेछन् ।’

नागरिक आरोग्य सेवा केन्द्रमा निःशुल्क पञ्चकर्म सेवा, योग सेवा, सामान्य उपचार, स्वस्थ जीवन कसरी बाँच्ने उपाय, सुत्केरीहरुको लागि दुग्धवर्दक औषधि, ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्यवद्र्धक औषधि वितरण हुनेछ । यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारद्वारा निर्देषित कार्यक्रमहरु पनि सञ्चालन हुनेछन ।

राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथीलगायत चिकित्सा प्रणालीलाई एकीकृत रुपमा विकास र विस्तार गरी संघीय संरचना अनुरुप आयुर्वेद चिकित्सासम्बन्धी तहगत संस्थाहरुको योजनाबद्ध विकास तथा विस्तार गर्ने लक्ष्य अनुसार हालसम्म जिल्लाका दुई वटा पालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ ।

 

Translate »