कोरोना व्यवस्थापनमा साढे ५३ करोड

स्काई न्यूज /असार ३, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि साढे ५३ करोड बढी रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५३ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आर्थिक वर्ष २०७८/०७९ को बजेट स्वास्थ्य शिक्षा, उत्पादन र पूर्वाधारमा केन्द्रित रहेको बताए । उनले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराईने जनाए ‘हामीले राकम कर्णालीमा ट्रमा सेन्टर स्थापनादेखि प्रदेश राजधानी सुर्खेतमा उच्च क्षमताको अक्सिजन प्लान्टसँगै अन्य जिल्लामा मिनी अक्सिजन प्लान्ट स्थापना गरिँदैछ,’ उनले भने, ‘कोराना महामारी नियन्त्रणमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई तलबको शतप्रतिशत जोखिम भत्ता, सबै नागरिकलाई कोरानाबिरुद्धको खोप लगाउने लगायतका योजनाहरु बजेटमा समावेश छन् ।’

उनले प्रदेशका मुख्य नाका सल्यानको कपुरकोट र सुर्खेतको बबईमा सेन्सरसहितको हेल्थडेस्क राखिने जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको तुलनामा करिब ३ अर्ब बढीको बजेट प्रदेश सरकारले ल्याएको छ । उनले कोभिड–१९ लगायत महामारीबाट कर्णालीलाई सुरक्षित राख्न अत्यावश्यक औषधी, स्वास्थ्य सामग्री एवं उपकरणको उपलव्धता, अत्यावश्यक खाद्यान्नको भण्डारण, खाद्य सुरक्षा, रोजगारी सिर्जनालाई बजेटको प्राथमिकतामा दिएको बताए ।

उनका अनुसार बजेटमा प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा, प्रत्येक सामुदायिक विद्यालयमा नर्सिङ्ग सेवा, एक स्थानीय तह एक नमूना विद्यालय, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना, बैंक, खाता छोरीको सुरक्षा जीवन भरीको, प्रत्येक घरमा स्वरोजगार बनाउन अनुदान, तीन सय कृषि प्राविधिकलाई स्वरोजगार, उत्कष्ट किसानलाई सुनको हलो अंकित तक्माले सम्मान गर्ने कार्यक्रमहरु समावेश गरिएका छन् ।

प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ । पूँजिगत तर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तियतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार रुपैयाँ बजेट विनियोजना गरेको उनले जानकारी दिए ।

Translate »