मध्यपश्चिम विश्वविद्यालयद्वारा साढे ५२ करोड बजेट विनियोजन

असार ५,सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) का लागि ५२ करोड ४८ लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्ष २०७८र ०७९ का लागि उक्त बजेट विनियोजन गरिएको हो । विश्वविद्यालय अनुदान आयोगमार्फत सञ्चालनतर्फ २७ करोड ४८ लाख रुपैयाँ र पूँजीगततर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

हालै आयोजित ११ औं वार्षिकोत्सवको अवसरमा विश्वविद्यालयका रजिस्ट्रार प्राडा नारायणप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् । भर्चूअल माध्यमबाट आयोजना गरिएको वार्षिकोत्सवमा चालू आर्थिक वर्षमा गरिएको खर्चसमेत सार्वजनिक गरिएको थियो ।

चालू आर्थिक वर्ष २०७७र ०७८ को दोस्रो चौमासिकमा सञ्चालनतर्फ एमयूले हालसम्म २३ करोड रुपैयाँ खर्च गरेको छ । रजिस्ट्रार पौडेलकाअनुसार तेस्रो चौमासिकको खर्च रिपोर्ट आउन भने बाँकी छ । पूँजीगततर्फ १५ करोड रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए ।

विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई अन्तरराष्ट्रिय स्तरमा परिचित गराउने गरी योजनाहरू बनाइएको बताए । यसअघि पाँच ओटा संकाय भएको विश्वविद्यालयमा कृषि र स्वास्थ्य थप गरी सात ओटा संकाय पुर्‍याइएको उनले जानकारी दिए ।

एमयूमा हाल ३१ ऋोटा डिपार्टमेन्ट, १७ ओटा कलेज, ६०० जना शिक्षक–कर्मचारीहरू र ८ हजार जना विद्यार्थी छन् । विश्वविद्यालय सामाजिक र आर्थिक उन्नती गर्ने थलो भएको भन्दै उपकुलपति सिंहले विभिन्न निकायबाट शैक्षिक सुधारका लागि सहयोग प्राप्त भएको बताए ।

कार्यक्रमका प्रमुख अथिति एवं प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आवश्यकतालाई मध्यननगर गरी पाठ्यक्रम तयार गर्नुपर्नेमा जोड दिएका थिए । विश्वविद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने पनि उनले बताए ।

Translate »