बर्दियाको कोभिड अस्पताललाई अमेरिका बस्‍ने नेपालीहरुको सहयोग

बर्दिया: अमेरिकाको मिचिगनमा बसोबास गर्दैआएका ६ परिवारले बर्दियाको ठाकुरबाबा नगरपालिकाको रानीपुरमा सञ्चालित कोभिड अस्पतालको लागि तीन वटा आईसीयू बेड सहयोग गरेका छन्।

बर्दियाको ठाकुरबाबा नगपालिका घर भइ हाल अमेरिकाको मिचिगनमा बस्ने छबिलाल लामिछानेको नेतृत्वमा आईसीयू बैड खरिद गर्न १२ लाख ५५ हजार ५० रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको हो।

सहयोग गर्नेहरुमा ठाकुरबाबा नगरपालिका १ का छबिलाल लामिछाने र यसोदा लामिछानेले ६ लाख ११ हजार ४ सय रुपैयाँ, वडा नम्बर ८ का देबिराम शर्मा र रमा कुमारी शर्माले १ लाख १३ हजार रुपैयाँ, वडा नम्बर ३ की दीपा शर्माले पनि १ लाख १३ हजार रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराएको जनाइएको छ।

यस्तै ठाकुरबाबा नगरपालिका ७ का जोहन ढकाल र रचना ढकालले २ लाख ८२ हजार ५ सय रुपैयाँ, वडा नम्बर २ बलातीका टीका गौतम र गोमा गौतमले १ लाख १३ हजार, वडा नम्बर ७ का भुपेन्द्र ढकाल र प्रसंसा ढकालले २२ हजार ६ सय रुपैयाँ प्रदान गरेका हुन्।

उनीहरुका अभिभावकले सो रकम ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। नगर प्रमुख श्रेष्ठले सहयोगीका परिवारलाई कोभिड अस्पतालमै खादा ओढाएर सम्मान गरेका थिए ।

कोरोनाको दोस्रो लहरसँगै संक्रमित बढ्न थालेपछि नगरपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो। अस्पताललाई विस्तार गर्न विभिन्न संघसंस्थाहरुले सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ।(अन्नपूर्ण पोस्ट्)

Translate »