२०८३ भदौ २९ , सोमबार
Sky News Nepal
September 14, 2026

कोरोनाको मुख्यथलो बन्दै रोपाइँ



दुल्लु। कोरोना कहरमा पनि दैलेखका प्रत्येक गाउँका खेतमा रोपाइँको चटारो छ । सामाजिक दुरी कायम नगरी मास्कको र सेनिटाइजरको प्रयोगविना स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदै हरेक गाउँका खेतमा रोपाइँ धमाधम चलिरहेको छ ।

भारतबाट फर्केका व्यक्ति कोरोना परीक्षणविनै र होम आइसोलेशनको बसाइँविनै सिधै खेतमा पुगी रोपाइँमा हली बाउसे बन्ने गरेको पाइएको छ । अहिले कसैलाई कोरोना सर्ने र त्यसले आफू थला परिएला वा ज्यानैसमेत लैजाला भन्ने भएको छैन । बरु आफ्नो रोपाइँ कसरी निधोकै दिन गर्ने र समयमै भ्याउने भन्ने कुराको होडबाजी नै चलेको छ ।

दिनहुँ दैलेखका प्राय खेतमा मानिसको बाक्लो उपस्थितिमा धमाधम रोपाइँ गर्ने काम चलिरहेका छन् । सुरु–सुरुमा गाउँमा कोरोनाको डर मान्ने गरे पनि अहिले भने कसैलाई त्यसको डर छैन । अहिले सामाजिक दुरी कायम नगरी भेला हुँदा कोरोना सङ्क्रमण फैलिन्छ भन्ने डर त्रासबिनै रोपाइँ गर्न प्राय मानिस जुट्ने गरेका छन् ।

“दिनहुँ जसो रोपाइँको पालो छ रोपाइँमा नगई छैन, मानो उमारेर मुरी बनाउने समय हो, अब कोरोनाको डर मानेर बसेर घरमा बसे भोलि पेट भोकै हुन्छ”, भने नारायण नगरपालिका–४ का किसान भवी न्यौपाने । कम्तीमा ४०÷५० जना दैनिक रोपाइँमा सामाजिक दुरी कायमलगायत स्वास्थ्य मापदण्डविनै रोपाइँ गर्ने गरेको किसान बताए ।

रोपाइँ सुरु भएसँगै यो नियति किसानको दिनचर्या नै बनेको किसान बताउँछन् । सबै मिलेर सगोलमा काम नगरे आफ्नै छाक बन्द हुने भएकाले काममा जुटेको भैरवीका किसान सुरज गुरुङले बताए ।

उहाँको मात्र होइन अहिले दैलेखका प्राय खेतमा भेटिने सबैले यही उत्तर दिने गरेका छन् । पछिल्लो समय रोपाइँ नै कोरोनाको थलो बन्न सक्ने सम्भावना र खतरा बढेर गएको स्वास्थ्यकर्मीले आशङ्का गरेका छन् । महाबु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश दसौदी कोरोना सङ्क्रमणबाट सुरक्षित हुन अपनाउनुपर्ने कुनै पनि मापदण्ड रोपाइँमा नअपनाइदा फेरि रोपाइँसँगै अर्को महामारी फैलिन सक्ने निकै सम्भावना बढेर गएको बताए।

बिहानदेखि रोपाइँ नसकुञ्जेल ४०र५० जना भेला हुन्छन् । कुनै एकलाई कोरोना भए पूरै समुदाय नै सङ्क्रमणको सिकार हुने निश्चित रहेको र महामारी फैलिने खतरा बढेको उनले आशङ्का गरे । रोपाइँले कोरोना सङ्क्रमण फैलिने खतरा बढेको जिल्ला अस्पताल दैलेखका निप्रमुख थिरप्रसाद रेग्मीले पनि चिन्ता व्यक्त गरे।

“कोरोना फैलिएर समुदाय नै समाप्त नहोस्, अनि त्यस्ता सम्भावित खतरा टार्न र कोरोना नियन्त्रण गर्न जिल्लामा निषेधाज्ञा जारी गरिएको हो, तर रोपाइँको सिजनले कुनै पनि गाउँमा नियम पालना भएको छैन”, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भने ।

तत्काल जिल्लास्थित कोरोना नियन्त्रण समितिको बैठक बसाली सम्भावित खतराबाट बचाउन के कस्ता उपाय र स्वास्थ्य उपचारका शैली अबलम्वन गर्ने भन्ने बारेमा सबै सरोकारवालासँग सुझाव लिने काम गरिने उनले जानकारी दिए । (रासस)

प्रकाशित मिति : २०७८ असार ७ गते सोमबार
Translate »