कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट ३०० जनाको मृत्यु

असार ८, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो । पहिलो लहरमा ४० जनाको मृत्यु भएकोमा दोस्रो लहर शुरु भएयता भने मृतकको संख्या बढेर ३०० पुगेको हो ।

प्रदेशमा हालसम्म २४ हजार ३४३ जनाले कोरोना संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ३९२ बिरामी संक्रमणमुक्त भएको निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयको अद्यावधिक तथ्यांकनुसार २७ हजार ४२१ कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या एक हजार ५८२ रहेको छ ।

स्वास्थ्य निर्देशक डा रवीन खड्काले पछिल्लो केही साता मृत्युदरमा कमी आए पनि संक्रमण दर भने नघटेको बताए । ‘संक्रमण र मृत्युदरमा केही कमी आए पनि जोखिम कायमै छ’, उनले भने, ‘कोरोनाको दोस्रो लहरको शुरूवातीमा ९८ प्रतिशतसम्म पुगेको थियो, अहिले २० प्रतिशतमा झरेको छ, तैपनि पर्याप्त सतर्कता अपनाउनु जरुरी छ ।’

संक्रमण रोकथामका लागि सुर्खेतसहितका अधिकांश जिल्लाले वैशाख १४ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिएका छन् । (रासस)

Translate »