एमालेले दिएको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलायो

अर्जुन श्रेष्ठ/ काठमाडौँ । कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको पुनरावलोकन निवेदन (भ्याकेट) मा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि प्रसाद फुयाँलको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्न अस्वीकार गर्दै सो आदेश दिएको हो ।


नेकपा एमालेले प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापामाथिको कारबाहीलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो ।

सो आदेश खारेज गर्न माग गर्दै एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पुनरावलोकन निवेदन दिनु भएको थियो ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले भने केन्द्रीय कमिटीले निर्णय गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरेको र सो समिति नै एमालेको आधिकारिक कार्यकारी कमिटी भएको जिकिर गर्नुहुँदै कारबाहीलाई मान्यता दिन माग गर्नु भएको छ  ।

Translate »