२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 22, 2026

घाँस बिक्रीबाट वार्षिक ७ लाख आम्दानी



दीपक शर्मा/ सल्यान। सल्यानका कृषक पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट मनग्य आम्दानी हुन थालेपछि कृषकहरू व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन ।

विगत केही वर्षदेखि घाँसको बिउ र घाँस बिक्री गर्दै आएका त्रिवेणी गाउँपालिका २ काँरागिठीका गोविन्द बहादुर रकालले घाँस बिक्री गरेर वार्षिक ७ लाख आम्दानी गर्दै आइरहेका छन् । १६ रोपनी क्षेत्रफलमा घाँस खेती गरेका रकालले वार्षिक ७ लाखभन्दा बढी आम्दानी हुने बताए । उनले भने शरीरमा जाँगर र मनमा इच्छाशक्ति भए थोरै लगानीबाट पनि प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ ।

बाख्रा र माछा समेत पालन गर्दै आइरहेका रकालले यी दुवैलाई घाँस आपूर्ति गर्न रोपेको भए पनि अहिले बिक्री समेत गर्दै आइरहेका छन् । बाख्रा र माछाका लागि पनि घाँस अनिवार्य हुन्छ त्यसको लागी थोरैमा घाँस खेती गरेको भए पनि अहिले बाख्रा र माछालाई खुवाएर पनि वार्षिक बिउ र घाँस बिक्री गर्दै आइरहेको उनले बताए । नेपियर, मुलाटो, बदामे, सिटलेस किमु, सुपर नेपियर लगायतका घाँस लगाएका उनले रोजगारीका लागि बिदेसिएका युवाहरू पनि स्वदेश फर्किए। पशुपालन तर्फ आकर्षित भइरहँदा घाँसको व्यापार फस्टाउँदै गएको बताए।

किसानहरूलाई अझै पनि बहु वर्षीय घाँसको महत्त्व थाहा नभएको उहाको भनाई छ । डाले घाँसलाई मात्र घाँस मान्ने किसानहरूको सोच रहेको उहाको भनाई छ । उनले भने डाले घाँस वर्षमा एक पटक मात्र काट्न मिल्छ तर भुईँ घाँस वर्षमा ६/७ पटकसम्म काट्न मिल्छ ।त्रिवेणी गाउँपालिका ६ पोखरीका खोपिराम भण्डारीले पनि घाँसको बिउ बिक्रीबाट राम्रो आम्दानी गरी रहेका छन् ।

गत वर्ष १ रोपनीमा लगाएको घाँसको बिउँ बिक्रीबाट ८० हजार आम्दानी गरेका उनले यो वर्ष घाँसको क्षेत्रफल बढाएको बताए । घाँस बिक्रीका लागि खासै समस्या नभएको बताउँदै उहाले खेर गएको जमिनलाई उपयोग गरेर आम्दानी गर्दै आइरहेको उनले बताए ।

प्रकाशित मिति : २०७८ असार ९ गते बुधबार
Translate »