असारे विकास विकृतिको अन्त्यका लागि सबै जुटौं : मन्त्री श्रेष्ठ


स्काई न्यूज /असार ११, सुर्खेत ।
जलस्रोत तथा उर्जा मन्त्री दीनबन्धु श्रेष्ठले आर्थिक वर्षको अन्त्यमा गरिने विकास निर्माणका काम प्रभावकारी नहुने बताएका छन् । ‘तोकिएकै समयमा बजेट कार्यान्वयन गर्ने परम्पराको विकास गर्न आवश्यक छ,’ उनले भने, ‘असारको अन्त्यतिर निर्माण कार्य सम्पन्न गरेर प्रगति विवरण बुझाउने अहिलेको परम्पराको अन्त्य जरुरी छ । यसमा सबै पक्षको सहयोग तथा समन्वय आवश्यक छ ।’

शुक्रबार मन्त्रालयका सचिव, योजना महाशाखा प्रमुख र १० वटै जिल्लाका कार्यालय प्रमुखसँगको भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले असारको अन्त्यतिर गरिने विकासको कामले गुणस्तरमा प्रश्न उठ्ने भएकाले तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले आगामी आर्थिक वर्षको बजेटलाई समयमै कार्यान्वयन गर्नेतर्फ अहिलेदेखिनै योजना बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । ‘आगामी आर्थिक वर्षको बजेट मन्त्रालयले वितरणमुखि नभएर कार्यान्वयनमुखि ल्याएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘त्यसैले समयमै सम्पन्न गर्नका लागि अहिलेदेखिनै योजना बनाउन लाग्नुहोस् ।’

उनले कर्णालीका विकास योजनाहरुको कार्यान्वयन पक्ष एकदमै कमजोर रहेकाले अहिलेदेखिनै त्यसलाई सच्याउँदै लिनुपर्ने बताए । ‘मन्त्रालयबाट बजेटको अख्तियारी पाउनासाथ कार्यान्वयनतर्फ लागे समयमै कामहरु सम्पन्न हुन्छन्, असार कुर्नु पर्दैन्,’ उनले भने, ‘त्यसका लागि सबै कार्यालयहरुले कार्ययोजना बनाएर काम गर्नु आवश्यक छ ।’

उनका अनुसार विकास निर्माणका कामहरु प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि मन्त्रालयकातर्फबाट आवश्यक सहजीकरण हुने छ । केही समस्या परेमा तत्कालै खवर गर्नुहोस्, मन्त्रालयले सहजीकरण गर्छ । कुनै पनि बहाना बनाएर आर्थिक वर्षको अन्त्यसम्म कुर्ने कामको अन्त्य हुनु आवश्यक छ,’ उनले कर्मचारीलाई भने ।

बैठकमा जिल्लास्थित कार्यालय प्रमुखहरुले आवश्यक प्राविधिक जनशक्ति नहुँदा काममा समस्या हुने गरेको बताएका थिए । अर्को महत्वपूर्ण विषय भनेको समयमै अख्तियारी नआउने समस्याले पनि तोकिएको समयमा काम गर्न समस्या हुने गरेको उनीहरुको भनाइ थियो ।

Translate »