माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् । आफूलाई प्रधानमन्त्रीको अफर आएको भनेर नेपालले झुटको खेती गरेको उनको आरोप छ ।

बालुवाटारमा आज आयोजित एक कार्यक्रममा ओलीले यसो भने- ‘तपाईंहरूले दुई-तीन दिन अघिदेखि सुन्नुभयो होला । मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे । म यो मान्दिनँ अरे । मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । देशलाई धोका दिन्छु । जनतालाई धोका दिन्छु । तर, देउवालाई धोका दिन सक्दिनँ । यसो भनिरहेका छन् ।’

ओलीले अगाडि थपे, ‘माधव नेपाल भोलि शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्छन् । प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ । उनको गन्तव्य त्यही हो । माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् । तर, अहिले धाक लगाएका छन्, केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो । मलाई बहुला कुकुरले टोकेको छ र कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न ?’(नेपाल प्रेस)

Translate »