असार १६ मा अछामको चाैरपाटीले काेदाे दिवस मनाउने

टेकराज भण्डारी/ अछाम। अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले असार १६ गते ‘कोदो दिवस’ मनाउने भएको छ । गाउँपालिकामा उत्पादन हुने कोदो बालिको संरक्षण गर्न असार १६ गतेलाई गाउँपालिकाले ‘कोदो दिवस’ का रुपमा मनाउने भएको हो ।

कोदो बालिको संरक्षण र प्रवर्द्धन गर्न गाउँपालिकाले गत वर्षदेखि यो दिवस मनाउदैं आएको छ । कोदोको उत्पादन वृद्धि गर्न ‘फलेको कोदो, कुटेको धान’ भन्ने कार्यक्रम अगाडि सारेर गाउँपालिकाले विशेष कार्यक्रम ल्याएको हो । यस कार्यक्रमअनुसार किसानहरूले फलाएको कोदो गाउँपालिकाले सङ्कलन गर्ने र सो बराबर उनीहरूलाई चामल दिने छ ।

कोदोलाई हेला र अवमूल्यनलगर्ने मानसिकतालाई अन्त्य गरी त्यसको महत्त्वको बारेमा सचेतना फैलाउन तथा कोदो उत्पादनमा किसानलाई उत्साहित गर्न कोदो सँग चामल साट्ने कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँदले जानकारी दिए ।

किसानबाट सङ्कलित कोदोको प्याकिङ र बजारीकरण गरिने गाउँपालिकाको नीति तथा कार्यक्रम रहेको छ । जस अन्तरगत गाउँपालिकाले पर्याप्त अनुदानको व्यवस्था समेत गरेको जनाएको छ ।

गत बर्ष माघरफागुनमा गाउँपालिका भित्रका किसानले फलाएर केलाएर ल्याएको कोदो बराबर चामल साटेर गाउँपालिकाले १ सय ५५ क्विन्टल ५० केजी कोदो सङ्कलन गरेको थियो । उक्त कोदो प्याकिङ गरेर धनगढीमा बजारीकरण गरिएको थियो । होलसेलमा कोदो खरिद गर्न चाहनेका लागि प्रतिकिलो ३५ रुपैयाँमा बिक्री गरिएको अध्यक्ष साउँदको भनाइ छ । “तराईबाट चामल लगायतका खाद्यान्न बोकेर जाने ट्रकमा स्थानीय उत्पादन पठाउने आफ्नो योजना रहेको छ ।” अध्यक्ष साउदले बताए ।

कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका तत्त्व पाइने हुँदा कोदो स्वास्थ्यका लागि पनि बहु उपयोगी भएको पोषणविद्हरुको भनाइ छ ।

कृषि विज्ञका अनुसार तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन र स्वस्थ पेट बनाउन जस्ता रोगका बिरामीहरूको लागि पनि उपयुक्त बालीको रुपमा कोदोलाई चिनिएको छ ।

Translate »