दुई महीनापछि सञ्चालनमा आयो आन्तरिक हवाई उडान
असार १७, काठमाडौं । मुलुकको विभिन्न भागमा दुई महीनापछि अर्थात् बिहीवारदेखि आन्तरिक उडान शुरु भएको छ ।
कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीवारदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्न हवाई कम्पनीहरुलाई अनुमति दिएको हो ।
तर उडान नियमित गरिए पनि पूर्ण रुपमा भने हवाई उडान सञ्चालन नहुने मन्त्रालयले बताएको छ । हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ ओटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ । जसअनुसार बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ भने यति एयरलाइन्सले १५ ओटा उडानको अनुमति पाएको छ । त्यसैगरी श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले तीन तीन ओटा उडान गर्न अनुमति पाएको छ ।
दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक आठ ओटा उडानको अनुमति पाएका छन् । यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ भने कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् । (आर्थिक अभियान)