बाँकेमा २ वटा पाटे बाघको छाला सहित २ जना पक्राउ

बाँके,असार १७ गते । बाँके प्रहरीले दुर्लभ वन्यजन्तु पाटेबाघको छाला ओसारपसार गर्ने दुईजनालाई नियन्त्रणमा लिएको छ ।

बिहिबार दिउँसो अन्दाजी १ः४५ बजेको समयमा बैजनाथ गाउँपालिका वडा नम्बर ४, तिलकपुरस्थित भित्री सडकबाट २ थान दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित मेललेख गाउँपालिका ३, दर्पा अछामका २७ बर्षिय डम्बर बुढा र रामारोसन गाउँपालिका ५, अछामका ३५ बर्षिय नन्दु बुढालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्याम अधिकारीले बताए ।

पाटेबाघको छाला ल्याइरहेको भन्ने विशेष सूचनाका आधारमा बाटोमा पैदल हिडिरहेका उनिहरुलाई रोकी उनीहरुले बोकेको झोला खानतलासी गर्दा उक्त छाला बरामद भएको प्रहरी उपरीक्षक श्याम अधिकारीले बताए ।

अन्दाजी ८ देखि १० बर्ष उमेरका र अन्दाजी ७ फिट लम्बाई भएका दुबै बाघहरु भाले जातीका भएको उनले जानकारी दिए । थप अनुसन्धान र आवश्यक कारबाहीका लागि छालासहित उनिहरुलाई डिभिजन वन कार्यालय बाँकेमा पठाउने प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ ।

उक्त बाघको छाला र व्यक्तिहरुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र खनालको नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । (livepati)

Translate »