२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

अप्राविधिक प्रशिक्षार्थीहरुका लागि आर्टिफिसियल इन्टिलिजेन्स तालिम संचालन हुँदै



आर्टिफिसियल इन्टेलीजेन्स (ए.आई.) को क्षेत्रमा ख्याति कमाएको सेवाप्रदायक संस्था फ्यूजमेशिन इन्कले AI2Go तालिमको आयोजना गर्ने भएको छ।  फ्यूजमेशिन इन्कले नेपालका लागि अहिलेसम्मकै नयाँ ए.आई. कार्यशालाको आयोजना गर्न लागेको हो।

ए.आई. सम्बन्धी सम्पूर्ण विषयहरुलाई समेटेर तयार गरिएको  तालिम अनलाईनमार्फत चार हप्तासम्म लगातार सञ्चालन गरिने आयोजनकाले जनाएको छ ।

कम्प्युटर विज्ञान तथा प्राविधिक ज्ञानको अभाव भएका र सीमित ज्ञान भएका पेशाकर्मीहरु तथा कम्प्युटरमा काम गरिरहेका तर ए.आई सम्बन्धी पुष्ठभूमि नभएका सहभागीहरु यो तालिमको माध्यमबाट लाभान्वित हुन सक्नेछन्।

तालिम लागि ८ वटा प्रत्यक्ष अनलाइन सत्रहरु समावेश गरिएको छ। ती सत्रहरुको क्रममा अमेरिकाका ए।आई। क्षेत्रका उल्लेखनीय विज्ञ, प्राध्यापकहरु र कम्प्युटर वैज्ञानिकहरुले  गेष्ट लेक्चरको रुपमा कक्षाहरु लिनेछन् भने प्रोगामिङ संबन्धी प्रयोगात्मक कक्षाहरु पनि संचालन गरिनेछ।

तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थीको सुविधा अनुसार डेस्कटप कम्प्युटर वा मोबाइल फोनमध्ये जुनसुकैबाट पनि जोडिन सकिनेछ र। त्यस्तै सहभागीहरुले प्रशिक्षणका विषयहरुसँग सम्बन्धित अतिरिक्त अध्ययन सामग्रीहरु तालिम अवधि भित्र आफूलाई अनुकुल पर्ने जुनसुकै समयमा पनि डाउनलोड गरेर लिन सक्नेछन्।

फ्यूजमेशिनका सी.ई.ओ. समीर मास्केका अनुसार  नेपालमा ए.आई.माथि सर्वसाधरणको पहुँच पुर्याउने अप्राविधिक क्षेत्रका पेशाकर्मीहरुलाई पनि यस्तै प्रकृतिका तालिमका अवसरहरु प्रदान गर्न लागिएको हो ।

उनी भन्छन्–‘देशका हरेक भागमा बस्ने व्यक्तिहरुका लागि उच्च गुणस्तरको ए.आई शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले दुई वर्ष अघि हामीले ‘नेपालका लागि ए.आई. शिक्षा कार्यक्रम’ सञ्चालन गरेका थियौं । एकातिर हामीले कम्प्युटर विज्ञान र सूचना प्रविधिका सयौं विद्यार्थीहरुलाई निरन्तर ए.आई.को तालिम अवसर उपलब्ध गराउँदै आएका छौं ।  नेपालका अप्राविधिक पेशाकर्मीहरुले पनि देखाएको चासोबाट हामी विशेष उत्साहित भएका छौं। नेपालमा ए.आई. शिक्षा र पेशागत अवसरका दुबै क्षेत्रलाई संबृद्ध बनाउन सही रुपमा सफलता प्राप्त गर्न सक्नेछौ ।’

AI2Go तालिम कार्यक्रम संचालन गर्नु अघि फ्यूजमेशिनले ‘नेपालका लागि ए.आई. शिक्षा’ ‘ए.आई.–फाउन्डेसन’, ‘माइक्रोडिग्री’ लगायत यस्तै प्रकृतिका चलिरहेको तालिम कायक्रमहरु नेपालका विभिन्न शैक्षिक संस्थाहरुसंगको रणनीतिक साझेदारीमा संचालनको पहल गरेको थियो । अहिले संचालन हुन लागेको AI2Go तालिम कार्यशालामा सहभागी हुने प्रक्रियाबारे बुझ्न यस वेबसाइट https://www.fuse.ai/ai2go/ बाट जानकारी लिन सकिने छ।(नागरिक)

प्रकाशित मिति : २०७८ असार १७ गते बिहीबार
Translate »