सर्वोच्चको फैसला सबैले स्वीकार गर्ने : माओवादी अध्यक्ष प्रचण्ड

अजय कुमार झा/जनकपुरधाम । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका केन्द्रीय सदस्य स्वर्गीय महादेव यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गर्नु भएको छ ।

अध्यक्ष प्रचण्डले जनकपुरधामस्थित पार्टी कार्यालयमा राखिएको पार्थिव शरीरमा आज पार्टीको झण्डा ओढाउँदै पञ्चायत विरोधी आन्दोलन देखि नै स्वर्गीय महादेव यादवसँग आफूले काम गरेको स्मरण गर्नुभयो ।

उहाँको केन्द्रीय सदस्य यादवको निधनले एक जना सच्चा सहयोद्धा गुमाउनु परेको बताउँदै मृतक परिवार जनप्रति समवेदना प्रकट गर्नु भयो । आजै नेकपाका माओवादीका अध्यक्ष प्रचण्डले स्वर्गीय यादवको मुजेलिया स्थित निवासमा पुगेर परिवारजनसँग भेटेर पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

क्यान्सर रोगले पीडित हुनु भएका यादवको गए राति आफ्नो जनकपुरधामस्थित निवासमा निधन भएको थियो । मृतक यादवको श्रीमती, छोरा तथा छोरी रहेका छन् । स्वर्गीय यादवको आजै जनकपुरधाम स्थित स्वर्गद्वार स्मशान घाटमा अन्तिम संस्कार गरिइएको छ ।

यसै बीच पत्रकारहरुसंग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसला विधि तथा नेपाली जनताको पक्षमा आउने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले सर्वोच्च अदालतले गर्ने निर्णयलाई पार्टीले स्वीकार गर्ने बताउँदै सर्वोच्चले संसद्को पुनर्स्थापना गरेर प्रधानमन्त्री नियुक्तिको विषयमा परमादेश पनि दिने  विश्वास व्यक्त गर्नु भयो ।

एक प्रश्नको जवाफमा माओवादीका अध्यक्ष प्रचण्डले संविधान संशोधनको पक्षमा पार्टी रहेको बताउँदै संविधानको उपलब्धिको रक्षा गर्दै संविधान संशोधन हुनु पर्ने  धारणा राख्नु भयो ।

Translate »