सिम्रिक एयरको सुर्खेतबाट हेलिकप्टर सेवा शुरु


स्काई न्यूज /असार २२, सुर्खेत ।
नीजि क्षेत्रको हवाई सेवा कम्पनी सिम्रिक एयरले सुर्खेत बेश क्याम्प बनाएर हेलिकोप्टर सेवा शुरु गरेको छ । तेस्रो चरणको कोरोना महामारीलाई ध्यानमा राख्दै उद्दार, उपचारमा नागरिकलाई सहजता पुगोस् भन्ने उद्देश्यले सुर्खेत बेश क्याम्प बनाएर सिम्रिक एयरले हेलिकोप्टर सेवा शुरु गरेको हो ।

सिम्रिकले कोभिड एवं अन्य अत्यावश्यक विरामीका लागि आधुनिक उपकरण, दक्ष डाक्टरसँगै हेलिकप्टर सुर्खेत विमानस्थलमा तयारी अवस्थामा राखेको छ । कर्णाली तथा सुदरपश्चिम प्रदेशका नागरिकका लागि चाहिएका बेला सुर्खेत आसपासमा हेलिकप्टर सेवा नहुँदा काठमाडौंबाट मगाउँदा बढी समय खर्चिनुका साथै महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको थियो । तर, अब सिम्रिक एयरले सुर्खेत वेश क्याम्प नै बनाएर हेलिकप्टर सेवा शुरु गरेपछि अत्यावश्यकीय कार्यका लागि प्रदेशका अन्य क्षेत्रबाट उद्दार तथा उपचारमा सहज हुनुका साथै जतिबेला पनि काठमाडौं जान सहजता पुग्ने अपेक्षा गरिएको छ ।

सिम्रिक एयर प्रालिका बजार विभाग प्रमुख योगेश सापकोटाले पश्चिम क्षेत्रका नागरिकको आवश्यकता र मागलाई मध्यनजर गर्दै सुर्खेत विमानस्थलबाट हेलिकोप्टर सेवा शुरु गरिएको जनाए । उनले कोरोना महामारीको पहिलो र दोस्रो चरणमा कर्णाली तथा सुदरपश्चिम प्रदेशबाट कोरोना संक्रमितसँगै अन्य विरामीको हवाई उद्दार गरिएकाले तेस्रो चरणको तयारीका लागि आवश्यक सरसमानसहित सुर्खेत विमानस्थलबाट हेलिकप्टर सेवा शुरु गरिएको बताए ।

‘कर्णाली तथा सुदरपश्चिमका नागरिकलाई अत्यावश्यकीय हवाई सेवा लिनका लागि काठमाडौं गुहार्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘कम्पनीले आफ्नो सेवालाई कार्गोमा मात्र सीमित नराखि हेलिकप्टर मार्फत विरामी तथा अन्य अत्यावश्यकीय सेवालाई सहज, सुलभ बनाउँदै सुर्खेत वेश क्याम्प बनाएर हेलिकप्टर सेवा शुरु गरेको हो ।’

उनले कम्पनीले सुर्खेतबाट हेलिकप्टर सेवा शुभारम्भ गरेसँगै प्रदेश सरकार एवं आम नागरिकलाई हवाई सेवा लिन सहजता पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार कम्पनीले देशैभर २ सय १४ फ्लाईट कोरोना महामारीको दोस्रो चरणमा कोभिड संक्रमितसँगै सुत्केरी उद्दारलगायतका कार्य गरिसकेको छ ।

सिम्रिक एयर हाल कर्णाली तथा सुदरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुमा खाद्यान्न ढुवानीसँगै, मानवर उद्दार, सशस्त्र र नेपाल प्रहरीलगायतका आवश्यक सरसमान ओसार पसार गर्दै आईरहेको कम्पनीका बजार विभाग प्रमुख सापकोटाले जानकारी दिए । उनले कोरोना संक्रमितहरुलाई एयर एम्बुलेन्सको सेवा शुरु गर्न सरकार र नागरिक उड्डयन प्राधिकरण नेपालले अनुमति दिएको बताए । कम्पनीका अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी उक्त सेवा शुरु गरिएको हो । कम्पनीले २ वटा हेलिकप्टरलाई कोरोना संक्रमितहरुको सेवाका लागि छुट्याएको छ । कम्पनीसँग हाल ५ वटा हेलिकप्टर छन् ।

Translate »