एमाले कार्यदलको छलफल निष्कर्ष नजिक

पार्टीभित्र देखा परेका विवाद भोलि सम्ममा समाधान हुने नेताहरूको विश्वास

अर्जुन श्रेष्ठ/ काठमाडौँ । नेकपा एमालेको कार्यदलमा भइरहेको छलफल निष्कर्ष नजिक पुगेको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता सहभागी कार्यदलको आज सिंहदरबारमा बसेको बैठकपछि दुवै पक्षका नेताले छलफल निष्कर्ष नजिक पुगेको बताए ।

कार्यदलका सदस्य एवम् प्रवक्ता प्रदीप ज्ञवालीले छलफल सकारात्मक रहेको जानकारी दिनुहुँदै पार्टीभित्र देखा परेका विवाद भोलि सम्ममा समाधान हुने विश्वास व्यक्त गरे।

कार्यदलका सदस्य एवम् नेता गोकर्ण विष्टले छलफल सकारात्मक रहेको र पार्टीभित्र देखा परेका विवाद समाधान निष्कर्ष नजिक पुगेको जानकारी दिए ।

नेता विष्टले २०७५ जेठ २ कै संरचना अनुसार जनवर्गीय सङ्गठनहरूलाई पूर्ववत् अवस्थामा फर्काउने, पार्टी केन्द्रीय कमिटीको सङ्ख्या, एमालेमा रहेका पूर्वमाओवादी नेताहरूको व्यवस्थापन र अदालतको मुद्दाका विषयमा सहमति नजिक पुगेको जानकारी दिए ।

Translate »