अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा गूगल,ट्विटर र फेसबुकविरुद्ध मुद्दा दायर

असार २४, संयुक्तराज्य अमेरिका । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफू सेन्सरशीपबाट पीडित भएको दाबी गर्दै प्रविधिसम्बन्धी कम्पनीहरू गूगल, ट्विटर र फेसबुकविरुद्ध बुधवार फ्लोरिडास्थित संघीय अदालतमा मुद्दा दायर गरेका छन्।

उनले मुद्दामा ती कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हरूलाई पनि विपक्षी बनाएका छन् । उनका समर्थकहरूको नेतृत्वमा अमेरिकी संसद्‌ द क्यापिटलमा दङ्गा भएपछि सुरक्षा चासोलाई ध्यानमा राख्दै ती कम्पनीहरुले उनको सामाजिक सञ्जालका खाताहरू निलम्बित गरेका थिए ।


सम्वाददाताहरुसँग पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो कदमलाई अभिव्यक्ति स्वतन्त्रताका लागि असाध्यै राम्रो कदम भनी परिभाषित पनि गरेका छन्। साथै  उनले गलत सूचना प्रवाह गरेको भन्दै सामाजिक सञ्जाल कम्पनीहरू र डेमोक्र्याटहरूको आलोचना पनि गरेका छन् ।

अमेरिकामा भएको उक्त घटनाको सर्वत्र निन्दा भएपछि ती कम्पनीहरुले ट्रम्पको ट्विटर र फेसबुक खाता बन्द गरेका थिए । मुद्दामा आरोपित सेन्सरशीप रोक्न अदालतको आदेश माग गरिएको छ। तर दायर गरिएको मुद्दाप्रति लक्षित कुनै पनि प्रविधि कम्पनीहरूले हालसम्म प्रतिक्रिया भने दिएका छैनन्। बीबीसी

Translate »