१५ वर्षकी किशोरीले गरिन् नाबालक भाईको योजनाबद्ध हत्या

योगेश रावल / टीकापुर ।  कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ का दिलिप बिष्टका साढे तीन वर्षका नाबालक छोरा विवेक बिष्टको योजनाबद्ध ढंगले हत्या गरिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज टीकापुरमा पत्रकार सम्मेलन गरी घटनाका बारेमा जानकारी दिएको छ ।

कैलालीका प्रहरी प्रमुख एसपी विश्व अघिकारीले हालसम्मको अनुसन्धानले हत्यामा मृतक नाबालकको दिदी नातापर्ने १५ वर्षकी किशोरीका सकुन्तला (नाम परिवर्तन) को संलग्नता रहेको देखाएको जानकारी दिए । उनी हाल प्रहरीको नियन्त्रणमा छिन् । प्रहरीले अर्की एक १४ वर्षकी बालिका (सकुन्तलाको साथी) लाई समेत नियन्त्रणमा लिएको छ। एसपी अधिकारीका अनुसार सकुन्तलाको साथीको भने हत्यामा प्रत्यक्ष संलग्नता रहेको देखिँदैन ।

घटना अनुसार दिदी नातापर्ने सकुन्तलाले मृतक नाबालकलाई खेल्न जाने भन्दै असार २१ गते बिहान ११ बजे आफूसँगै लगेर गईन्  उनीहरु छिमेकी समेत हुन् । उनले नाबालकलाई खेलाउने बहानामा डोर्‍याउँदै जमरा कुला तर्फ लगिन्। उनीहरुको घर र जमरा कुलो झण्डै एक किलोमिटरको दूरीमा छ ।

उनले विवेकलाई घरभन्दा केही पर रहेको जामुनको बोटबाट जामुन टिपेर खुवाईन् । त्यसपछि उनीहरु कुलातर्फ हिँडे । कुलाको किनार नपुग्दै बाटोको छेउमा बालबालिकालाई खेल्नका लागि फलामको पिङ बनाईएको छ । उनले विवेकलाई त्यहाँ पिङ खेलाइन् । उनीहरु पिङ खेलिसकेपछि फेरि कुलाको किनारतर्फ हिँडे ।

पिङ भएको ठाउँबाट कुलाको किनारतर्फ जाने छोटो बाटो भएकोमा उनीहरुले लामो बाटो प्रयोग गरेका छन् । अनुसन्धानका क्रममा सकुन्तलाले लामो बाटो प्रयोग गर्नुको कारण छोटो बाटोमा विवेक जान नमानेको बताएकी छन् । ‘त्यो बाटोमा झाडी धेरै छ’, घटनास्थलमा अनुसन्धानका लागि पुर्‍याईएकी उनले एसपी अधिकारीसँग भनिन्,‘बाबु जान मानेन ।’

उनले कुलोको किनारमा पुगेपछि विवेकलाई तेर्सो परेको सिसमको रुखमा राखिन् । त्यही क्रममा उनले विवेकको खुट्टाबाट चाँदीको बाला निकालिन्। उनले चाँदीको बाला निकाले पछि विवेकलाई किनारमा उभिन लगाइन् र कुलोमा धकेलिन् ।

विवेकलाई कुलोमा धकेले पछि उनी घर फर्किइन् । उनले विवेकको खुट्टाबाट निकालेको चाँदीको बाला हाल प्रहरीको नियन्त्रणमा रहेकी साथीलाई राख्न दिइन् । उनी त्यसपछि आफ्नो घर गएर लुगा फेरिन् ।

आफ्नो घरबाट निस्केकी उनी त्यसपछि अन्य चारजना साथीहरुको घरमा पुगेकी थिइन् । ती मध्ये दुईजनाले बजार पुगेर चाँदीको बाला बेच्ने प्रयास गरेको कुरा अनुसन्धानका क्रममा देखिएको एसपी अधिकारीले जानकारी दिए । उनका अनुसार चाँदीको बाला बेचेर दुवैजनाले काठमाडौं जाने सल्लाह गरेका थिए ।

उनले चाँदीको बाला निकाल्नु र त्यसलाई साथीसँग राख्न दिनुलाई घटना अन्यत्र मोड्न खोजेको प्रहरीसँग भनेकी छन् । ‘यो घटना एकदमै चलाखीपूर्ण ढंगले गरिएको देखिन्छ’, एसपी अधिकारीले भने, ‘१५ वर्षको बालिकाले हत्यामा आफ्नो संलग्नताका प्रमाण मेटाउन खोज्नुले घटना गम्भीर रहेको देखाउँछ ।’

सकुन्तलाले सुरुमै घटनालाई अन्यत्र मोड्न खोजेकी थिइन् । उनले जामुन खाएर फर्किने क्रममा आफू साथीको घर किताब लिन गएको र भाई समेत आफ्नो साथीको घर खेल्न गएको भनेकी थिइन् । उनले नाबालककी आमालाई विवेक साथीको घरमा रहेको जानकारी दिएकी थिइन् ।

जब विवेककी आमा त्यहाँ गईन् त्यसपछि मात्रै विवेक बेपत्ता भएको रहस्य खुलेको थियो । त्यसपछि मात्रै विवेकको खोजी सुरु भएको थियो । सुरुमा सकुन्तलाले भाइलाई छोडेको ठाउँनेर अटो रोकिएको, पानी बोक्ने गाडी आएको, टिप्पर हिँडेको जस्ता कुरा प्रहरीलाई बताइन् । उनी सुरुमै प्रहरीको ध्यान अन्तै मोड्न चाहन्थिन् ।

प्रहरीले घटनालाई उनीसँगै जोडेर अनुसन्धान बढायो । सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी पुरुषोत्तम कँडेल आफै घटनास्थल पुगे । कैलालीका प्रहरी प्रमुख एसपी अधिकारी आफै अनुसन्धानमा जुटे ।

प्रहरीलाई सकुन्तलाले चाहेर पनि अन्त मोड्न सकिनन् । उसले बालकको खोजी र अनुसन्धानलाई एकसाथ अघि बढायो । प्रहरी सकुन्तलाको कुराबाट विवेकको शव कुलोमै छ भन्ने कुरामा निश्चित भैसकेको थियो । प्रहरीले कुलोको पानी मुहानबाटै थुनेर सुकायो ।

प्रहरीले असार २३ गते साढे ५ बजे घटनास्थलबाट करिव ५ किलोमिटर तल टीकापुर नगरपालिका वडा नं. ४ बाघमारास्थित कुलोमा नाबालकको शव भेटाएको थियो । उनको शव पानीमा रहेको बेतको झाडीमा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।

सकुन्तलाले पारिवारिक रिसिईबीका कारण विवेकको योजनाबद्ध ढंगले हत्या गरेको प्रहरीले दावी गरेको छ । एसपी अधिकारीले थप दुईजना शंकाको घेरामा रहेको र घटनाका बारेमा थप अनुसन्धान भैरहेको जानकारी दिए । ‘हत्यामा अन्य कुनै पक्ष पनि संलग्न छ कि भनेर अनुसन्धान भैरहेको छ’, एसपी अधिकारीले भने,‘हामी अनुसन्धानको क्रममै छौं ।’ (नागरिक)

( हत्या आरोपी र उनका साथीहरु नाबालक भएकाले उनीहरुको परिचय गोप्य राखिएको हो । ) 

Translate »