किसानलाई मौरीको गोला र घार वितरण

बद्री पन्त/ जाजरकोट  । जाजरकोटको नलगाड नगरपालिका ४ र ५ का मौरी पालक किसानलाई मौरी गोला र घारलगायतका सामग्री वितरण गरिएको छ ।
कृषि विकास कार्यालयको आर्थिक सहयोग तथा पञ्चासे बहुउद्देश्यीय सहकारी संस्थाको समन्वयमा उक्त सामग्री कृषकलाई वितरण गरिएको हो ।
३५ जना किसानलाई ३ वटाका दरले मौरी गोला र घार, चाका बनाउने बलक वितरण गरिएको छ ।

 

त्यस्तै टोपी ६५ वटा, झोला ६५ वटा, चक्कु ६५ वटा, मह मदानी, आधार चाका र तोरीको बिउ, चार हजार चिउरीको बिरुवा वितरण गरेको पञ्चासे बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक किशोर रावलले बताए ।

नमुना मौरी पालन समूह खाल्चौर ८ जना, लालिगुँरास मौरी पालन समूह बाउसे खोलाका १० जना, सुन्दर मौरी पालन समूह मानचौरका ५ जना, दह लालिगुँरास मौरी पालन समूह मुलीका ७ जनालगायत समूहका किसानलाई उक्त सामाग्री वितरण गरेको रावलले बताए ।

नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले किसानलाई मौरी गोला हस्तान्तरण गर्दै मौरी पालक कृषकलाई व्यावसायिक र आत्मनिर्भर बनाउन आवश्यक सामाग्री सहयोगले थप टेवा पुग्ने बताए ।

जिल्ला समन्वय समितिका सदस्य वीर बहादुर रावतले नलगाड क्षेत्र मौरी पालनका लागि राम्रो सम्भावना बोकेको स्थान भएको बताउँदै यसका लागि स्थानीय सरकारले लगानी गर्नुपर्ने धारण व्यक्त गरे।

नलगाड क्षेत्रभर ६ सय किसान मौरी पालन व्यवसायमा संलग्न रहेका छन् ।

कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले रानी खेतमा ३५ लाख लागतमा मौरी स्रोत केन्द्र निर्माण भएको बताए ।

केन्द्रबाट आधुनिक मौरीको घार निर्माण गरिने र किसानलाई बाहिरी जिल्लाबाट घार ल्याउनुपर्ने बाध्यता हट्ने प्रमुख अधिकारीको भनाइ छ ।

 

Translate »