कर्णाली प्रदेशसभा बैठक लगातार अवरुद्ध

स्काई न्यूज /असार २७, सुर्खेत ।कर्णाली प्रदेश सभा बैठक आईतबार पनि अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले फ्लोरक्रस गरेर मन्त्री बनेका आफ्ना तीनजना सांसदहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सरकारबाट फिर्ता नआएको भन्दै संसद अवरोध गर्दै आएको हो । एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न नपाई बैठक अवरुद्ध भएको छ। एमाले सांसदले बैठक चल्न नदिएपछि सभामुखले असार २९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् । कर्णाली प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आव २०७८÷७९ को बजेटबारे प्रदेशसभामा अझै छलफल प्रारम्भ हुन सकेको छैन। सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार एमाले दलको सदस्य कायम भएका तीन मन्त्रीले मन्त्री पदबाट राजीनामा दिनुपर्ने माग राखी लगातार प्रदेशसभा बैठकमा अवरुद्ध गर्दै आएको हो।

प्रदेश सरकारले संविधान, संसदीय मूल्य मान्यताविपरीत एमालेलाई सत्तापक्ष र प्रतिपक्ष दुवै भूमिकामा राख्न खोजिएको भन्दै उसले आपत्ति जनाउँदै आएको छ । आजको बैठकमा बोल्दै एमाले प्रदेशसभा सदस्य पदम रोकायाले पनि मन्त्रीले राजीनामा दिनुपर्ने माग दोहोर्‍याए । उनले मन्त्रीले राजीनामा दिएपछि मात्र बजेटमाथि छलफल चलाउन सकिने बताए ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद हाल प्रदेश सरकारमा मन्त्री छन् । पार्टी निर्देशन उल्लङ्घन गरेको आरोपमा एमालेको सिफारिसमा प्रदेशसभा सचिवालयले बर्खास्त गरेपनि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट प्रकाश ज्वालासहित उनीहरु तीन जना एमालेका सदस्यका रुपमा पुनर्वहाली भएका थिए ।

मन्त्रीत्रयले केन्द्रमा पार्टी विवाद नमिलेसम्म सरकारबाट नबाहिरिने अडान राखेका छन् । प्रदेशसभाले विपक्षी लहरमा सिट व्यवस्थापन गरेपनि ज्वालाबाहेक अन्य तीन मन्त्रीको हैसियतमा सत्तापक्षको कुर्सीमा बस्दै आएका छन् । एमालेले सोही विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै बजेटमाथि छलफल सुरु हुन दिएको छैन ।

Translate »