ढक्कारीका स्थानीय एक वर्षदेखि सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

टेकराज भण्डारी/ अछाम । अछामको ढकारी गाउँपालिकाका नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।

आर्थिक वर्ष ०७७र७८ को पहिलो चौमासिक देखि नै आफूहरूले सामाजिक सुरक्षा भत्ता नपाएको त्यहाँका नागरिकले गुनासो गरेका हुन् । सामाजिक सुरक्षा भत्ता वितरणमा गाउँपालिकाले नै लापरबाही गरेका कारण सामाजिक सुरक्षा भत्ता नपाएको नागरिकको भनाइ छ ।

ढकारी गाउँपालिका वडा नम्बर ६ का नागरिकले लामो समयसम्म पनि सामाजिक सुरक्षा भत्ता पाउन नसकेको स्थानीय चक्र बुढाले बताए ।

कोरोना महामारीको समयमा समस्यामा रहेका नागरिकलाई राहतको व्यवस्था गर्नुको साटो लामो समयसम्म सामाजिक सुरक्षा भत्ता समेत गाउँपालिकाले वितरण गर्न नसकेको बुढाको भनाइ छ ।

सामाजिक सुरक्षा भत्ता समयमा वितरण मात्रै होइन, ढकारी गाउँपालिकाले यस आर्थिक वर्षका महत्त्वाकाङ्क्षी योजना समेत सञ्चालन गर्न नसकेको बताइएको छ ।

गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्यक्रम पनि कार्यान्वयन गर्न नसकेको, गाउँपालिकाका विभिन्न कामको जिम्मा लिएका निर्माण व्यवसायी तथा उपभोक्ता समितिले पाउनु पर्ने पैसा समेत भुक्तानी नगरेको स्थानीयले बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढा र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाट बीच आन्तरिक मनमुटाब हुँदा गाउँपालिकाका विभिन्न निर्णय र योजना कार्यान्वयन हुन नसकेको गाउँपालिकाका एक जनप्रतिनिधिले बताएका छन् । यस्ता विभिन्न समस्याकै कारण गाउँपालिकामा तालाबन्दी समेत हुन पुगेको छ ।

विकास निर्माणका योजनाको रकम नदिएको, आफूखुसी योजना बनाई विल भुक्तानी गरेको, सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै शुक्रवार स्थानीयले गाउँपालिकामा ताला लगाएका हुन् ।

यता गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी साउँदले स्थानीयका समस्या नजिकबाट बुझेको तर गाउँपालिका आफ्नै समस्यामा अल्झेपछि स्थानीयले गाउँपालिकामा ताला लगाएको बताए ।

सामाजिक सुरक्षा भत्ता समयमै दिन नसकेको, गाउँपालिकामा विकास निर्माणका काम गरेका ठेकेदार सर्वसाधारणलाई लामो समय देखि पारिश्रमिक गाउँपालिकाले दिन नसकेको पनि स्वीकार गरे।

गाउँपालिकामा तालाबन्दी भएको तथा अध्यक्ष र गाउँपालिकाका अधिकृतबीच मनमुटाब भएको बारे बुझ्न पटक पटक टेलिफोन सम्पर्क गर्दा अध्यक्ष र अधिकृतको टेलिफोनको घण्टी बजे पनि फोन उठाएका छैनन् ।(रेडियो नेपाल)

Translate »