सेनामा दोस्रो महिला गुल्म पनि बनाइँदै

झन्डै एक लाख दरबन्दी रहेको सेनामा पाँच हजार ६२ सैनिक महिला

यसअघि गठन गरिएको १८८ सैनिक रहेको गोरखकाली गुल्ममा कामान्डरदेखि फलोअर्ससम्म महिला छन्, नयाँ गुल्ममा पनि १७५ सैनिक महिला रहने । तस्बिर : नेपाली सेना

साउन ४, काठमाडौं ।  समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै सेनाले संगठनमा फेरि अर्को महिला गुल्म थप्ने तयारी गरेको छ । थप गरिने गुल्ममा कमान्डरदेखि फलोअर्ससम्म महिला सैनिक रहनेछन् ।

यसअघि १ साउन ०७४ मा सेनाको इतिहासमै पहिलोपटक महिला गुल्म गठन गरिएको थियो । गोरखकाली नाम दिइएको उक्त गुल्ममा पनि कामान्डरदेखि फलोअर्ससम्म सैनिक महिला छन् । एक सय ८८ महिला सैनिक रहेको उक्त गुल्मको कमान्ड सेनानीले गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले गत २४ असारमा महिलाको अर्को गुल्म पनि गठन गर्ने निर्णय गरेको थियो । यो गुल्ममा पनि सेनानी नै कमान्डर हुनेछन् । गुल्ममा एक सय ७५ सैनिक महिला रहने सेनाले जनाएको छ ।

‘हामीसँग यसअघि एक महिला गुल्म थियो । जसमा सैनिक महिला मात्रै सहभागी थिए । अब पनि सोही प्रकृतिको अर्को गुल्म गठन गर्न लागिएको हो । यसको निर्णय भइसकेको छ । यो गुल्ममा पनि महिला सैनिक मात्रै रहनेछन्,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले भने ।

सेनाका अनुसार महिला गुल्म गठन गर्ने निर्णय कार्यान्वयनको चरणमा पुग्न भने केही समय लाग्नेछ । दरबन्दी मिलानदेखि तालिम तथा बन्दोबस्तीका सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लाग्ने भएको हो । ‘यसलाई कार्यान्वयन गर्न धेरै प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । दरबन्दी मिलानदेखि अन्य व्यवस्थापनका पाटो पनि छन् । यी सबै काम पूरा गर्न केही समय लाग्छ,’ प्रवक्ता पौडेलले भने ।

सेनासँग अहिले नेपाल सरकारबाट स्वीकृत करिब एक लाखको दरबन्दी छ । गठन गर्न लागिएको महिला गुल्मका लागि आवश्यक दरबन्दी अहिले कायम रहेको दरबन्दीबाटै मिलान गरिनेछ । अर्को गुल्म पनि गठन भएपछि संगठन थप समावेशी र महिलामैत्री हुने सेनाका बुझाइ छ । ‘यसले सेनालाई थप समावेशी बनाउनेछ । सेनामा महिलाको सहभागिता बढ्नेछ र उनीहरूको वृत्तिविकासलाई सघाउँछ । कार्यक्षमता विकासमा पनि यसले सघाउनेछ,’ पौडेलले भने ।

एक लाख दरबन्दी रहेको सेनामा पाँच हजार ६२ सैनिक महिला सेनाले महिलाका लागि सेवा खुला गरेको सन् १९६१ देखि नै हो । तर, त्यसवेला महिलाका लागि साधारणतर्फको सेवा खुला गरिएको थिएन । सन् २००४ देखि मात्रै साधारणतर्फ सेवा खुला गरिएको हो । त्यसयता प्रत्येक वर्ष सेनाले पुरुषसँगै महिलालाई पनि सैनिक सेवामा भर्ना लिँदै आएको छ । अहिले सेनामा पाँच हजार ६२ सैनिक महिला सेवारत छन् ।

अहिलेसम्म साधारणतर्फ महिला अधिकृतको संख्या एक ८३ पुगेको छ भने प्राविधिकतर्फ अधिकृत दुई सय १४ जना छन् । साधारण सेवातर्फ जुनियर अधिकृतदेखि सिपाहीसम्म तीन हजार सात सय ५८ पुगेको छ । त्यस्तै, प्राविधिकतर्फ भने नौ सय सातजना कार्यरत छन् ।

सेनाका अनुसार साधारण सेवातर्फ सैनिक महिला अधिकृतको उपस्थिति मेजरसम्म छ । उनीहरूको संख्या अहिले ७४ छ । तर, प्राविधिकतर्फबाट माथिल्लो तहमा पुग्ने सैनिक महिला अधिकृतको संख्या धेरै छ । सेनाका अनुसार प्राविधिकतर्फ सैनिक महिलाको उपस्थिति सहायक रथीसम्म छ । तीनजना अहिले सहायक रथीमा कार्यरत छन् । नयाँ पत्रिका

Translate »