जुम्लामा अबको दश दिन भित्रै विद्युतको राष्ट्रिय प्रसारणलाईनसँग जोडिँदै

स्काई न्यूज /साउन ५, सुर्खेत ।
कर्णाली प्रदेशको दोस्रो ठूलो शहर जुम्लामा अबको दश दिनभित्रै राष्ट्रिय विद्युत प्रसारणलाईन जोडिने भएको छ । नेपाल विद्युत प्राधिकरणसँगको छलफलका क्रममा कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा जुम्ला जिल्लालाई अबको दश दिनभित्रै विद्युतको राष्ट्रिय प्रसारणलाईनसँग जोड्निे तयारी भएको जानकारी दिए । उनले नेपाल विद्युत प्राधिकरणका पदाधिकारीसँगको छलफलका क्रममा जुम्लामा विद्युतको राष्ट्रिय प्रसारणलाइन पु¥याउन टान्सफर्मरलगायतका विद्युतका सामाग्रीहरु अपुग भएमा प्रदेश प्रदेश सरकार आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको बताए । ‘छिमेकी जिल्लासम्म पुगिसकेको विद्युतको प्रसारणलाइन तत्काल जुम्लासम्म पु¥याउन विद्युत प्राधिकरणलाई निर्देशन दिएको छु,’ मन्त्री श्रेष्ठले भने, ‘हप्ता १० दिनभित्रमा जुम्लामा राष्ट्रिय प्रसारणलाइन पुग्ने अपेक्षा लिएको छु ।’ नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख सुरेन्द्र अग्रहरिले जुम्लालाई राष्ट्रिय प्रसारणलाइनमा जोड्न तीब्रताका साथ काम भइरहेको बताए । ‘कालिकोटसम्म ३३ केभीलाइन पु¥याएका छौं, जुम्लामा लाइन विस्तारको काम भइरहेको छ,’ उनले भने, ‘एक साताभित्र जुम्लालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखेका छौं ।’ उनले निरन्तरको वर्षाका कारणले काममा समस्या भइरहेको भएपनि चाँडोभन्दा चाँडो जुम्लालाई राष्ट्रिय प्रसारणलाइनमा जोड्ने लक्ष्यका साथ कामले निरन्तरता पाईरहेको जानकारी दिए । उनका अनुसार एक सातामै दैलेखको दुल्लु सव–स्टेशनमार्फत कालिकोटमा ३३ केभी प्रसारणलाइन पुग्दैछ । कालिकोट सदरमुकाम मान्मबाट जुम्लासम्म तत्कालका लागि ११ केभी प्रसारणलाइन पु¥याउने लक्ष्य प्राधिकरणको छ । मान्मादेखि जुम्ला खण्डको ३५ किलोमिटर खण्डमा विद्युत प्रवाह भइरहेको छ ।

अझै तीन जिल्लामा अन्यौल कायमै
कर्णाली प्रदेशका १० जिल्लामध्ये ३ जिल्लामा राष्ट्रिय प्रसारणलाईन जोडिन अन्यौलता कायमै रहेको छ । यद्यपि ! यो समाचार तयार पारुन्जेल प्रदेशका दश मध्ये चार जिल्लामा अझै राष्ट्रिय ग्रिड पुगेको छैन । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम–पश्चिम र कालिकोटमा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । नेपाल विद्युत प्राधिकरणले कालीकोट हुँदै जुम्लामा अबको एक÷दुई सातामै विद्युतको राष्ट्रिय प्रसारणलाईन जोड्ने अन्तिम तयारी भईरहेको बताएको छ । तर, ती मध्ये मुगु, हुम्ला र डोल्पा जिल्लामा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने हो कुनै टुङ्गो छैन । प्राधिकरणका अनुसार सरकारले पर्याप्त बजेटसँगै कुनै भव्यतव्य नभएमा मुगु, डोल्पामा छिट्टै राष्ट्रिय प्रसारणलाईन जोड्न सकिने छ । तर, हुम्लामा भने राष्ट्रिय विद्युत प्रसारणलाईन कहिले पु¥याउने बारे कुनै टुङ्गो छैन् । राष्ट्रिय प्रसारणलाईन आउनेमा अहिले पनि ती नागरिक आशावादी छन् । विद्युत् उत्पादनको पर्याप्त स्रोत हुँदाहुँदै पनि नागरिकलाई अँध्यारोमा बस्नुपर्ने बाध्यता रहेको छ । माथिल्लो कर्णालीका बालबालिका, महिला, ज्येष्ठ नागरिकका पीडाले केन्द्र सरकारलाई छुन सकेको छैन् । विद्युत् उत्पादन क्षमताको हिसाबले देश कै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका कूल जनसंख्याको ६७ प्रतिशत नागरिक अहिले पनि अँध्यारोमा नै बस्न बाध्य छन् । सो प्रदेशमा साढे १७ लाख जनसङ्ख्या रहेको कर्णालीमा अहिलेसम्म करीब ३३ प्रतिशत अर्थात् पाँच लाख ६१ हजार नागरिक मात्रै विद्युतको पहुँचमा पुगेका छन् । एघार लाख ३९ हजार अर्थात् ६७ प्रतिशत नागरिक अहिले पनि टुक्कीकै भरमा रात कटाउन बाध्य रहेको तथ्याङ्कले देखाएको छ । करीब १८ हजार मेगावाट विद्युत् उत्पादनको क्षमता र सम्भावना रहेको कर्णालीमा पर्याप्त लगानी नहुँदा नागरिक बत्ती विना अँध्यारोमा बस्न बाध्य भएको यहाँका नागरिक अधिकारकर्मीहरु बताउँछन् । केही वर्षपहिलेसम्म यहाँका ७२ प्रतिशत नागरिक विद्युतको पहुँचबाहिर थिए । प्रदेश तथा स्थानीय सरकार आएपनि साना लघुजलविद्युत्, सौर्य ऊर्जा निर्माण गरेपछि पाँच प्रतिशतले घटेर ६७ प्रतिशत नागरिक अझै विद्युतको पहुँचबाहिर छन् । यद्यपि ! विगतको भन्दा पाँच प्रतिशत नागरिकको विद्युतीय पहुँचमा वृद्धि भएको देखिन्छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशका विभिन्न जिल्लामा ग्रामीण विद्युतीकरणका लागि ५० करोड नौ लाख बजेट विनियोजन गरेको थियो । योजनाले कति नागरिक विद्युतको पहुँचमा पुगे कि पुगेनन् अत्तोपत्तो छैन । कर्णालीलाई लघुजलविद्युत् तथा वैकल्पिक ऊर्जामार्फत तीन वर्षभित्र अँध्यारोमुक्त बनाउने प्रदेश सरकारको लक्ष्य रहेको छ । ‘कर्णाली उज्यालो कार्यक्रम’ अन्तर्गत मात्र विभिन्न जिल्लामा १९ लघु तथा साना जलविद्युत् आयोजना बन्दैछन् । दुई वर्षअघिदेखि ‘कर्णाली उज्यालो कार्यक्रम’ शुरु भए पनि यसको प्रभाव देखिएको छैन् ।

Translate »