३५० करोडमा किने सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेज

वेदराज पौडेल/ विराटनगर । काठमाडौं मेडिकल कलेज किनेको झन्डै ११ महीनापछि डा.सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेजको ५१ प्रतिशत शेयर लिएका छन् । बैंकको ऋणसमेत गरी ३५० करोडमा उनले यसको शेयर किनेका हुन् । विराटनगरको नोबेल मेडिकल कलेजसहित शर्मासँग अब तीनओटा मेडिकल कलेज छन् भने काठमाडौंमा नै पिपुल्स डेन्टल कलेज सञ्चालनमा छ ।

शर्माले भदौमा केएमसीको ४७ प्रतिशत शेयर खरीद गरेका हुन् । त्यसैगरी १०० रुपैयाँ शेयर रहेको नेपालगञ्ज मेडिकल कलेजको करसमेत जोडेर प्रति शेयर ५०० रुपैयाँमा किन्ने प्रक्रिया शुरू गरेको सुनील शर्माले बताए । तर, खरीदको सम्पूर्ण प्रक्रिया भने पूरा हुन बाँकी रहेको जानकारी उनले दिए ।

नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरूको ३ महीनाको तलब र बैंकको १५० करोड ऋणको दायित्वसमेत शर्माले लिने भएका हुन् । आवश्यक र दक्ष कर्मचारी राखेर चुस्त रूपमा मेडिकल कलेज सञ्चालन गर्ने सोचमा रहेका शर्माले नोबेल मेडिकल कलेज विराटनगरमा ओपीडीमा शुल्क नलिएजस्तै नेपालगञ्जमा समेत निःशुल्क ओपीडी सेवा सुचारु गर्ने बताएका छन् ।

शर्माको स्वामित्वको पिपुल डेन्टल कलेजमा सम्पूर्ण सुविधासहितको अस्पताल र वीडीएस पढाइ हुँदै आएको छ । सम्पूर्ण पूर्वाधारसहितको पिपुल्स डेन्टललाई मेडिकल कलेजका रूपमा सञ्चालन गर्न सबै पूर्वाधार निर्माण गरिएको छ । तर, सरकारले स्वीकृति नदिएका कारण मेडिकल कलेज सञ्चालन हुन सकेको छैन ।

गोविन्द केसीको आन्दोलनका कारण सरकारले नयाँ मेडिकल कलेजको स्वीकृति नदिएपछि डा.शर्माका आँखा पुराना तर सञ्चालनमा कठिनाइ भोगिरहेका मेडिकल कलेजतिर गएको हो । यसरी एकपछि अर्काे मेडिकल कलेज थपेर शर्मा मुलुकभरि एउटै व्यवस्थापन भएको मेडिकल अस्पतालहरूको चेन निर्माण गर्न चाहन्छन् ।

व्यवस्थापनमा निकै कडा र सुधारमा निकै प्रभावकारी टीम शर्मासँग छ । जसको कारण घाटामा गएका कलेज र अस्पतालहरूलाई चुस्त व्यवस्थापनले केही समयमा नै नाफामा लैजान सक्ने खुबी छ । त्यही कारण शर्मा मेडिकल क्षेत्रमा सफल व्यवसायीका रूपमा चिनिन्छन् । सिँगै परिवार र आफन्तसमेत मेडिकल क्षेत्रमा संलग्न गराएकाले अस्पतालको उपल्लो तहदेखि तल्लो तहका समान्य कुरासमेत तत्कालै जानकारी पाउने नेटवर्क उनीसँग छ ।

काठमाडौं मेडिकल कलेज किन्नुपूर्व १ वर्षअघि नै शर्माले नेपालगञ्ज मेडिकल कलेज किन्ने तयारी गरेका थिए । तर, व्यवस्थापनसँगको सहमति ढिला भएको कारण उनले केएमसी पहिले किने । नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डाक्टर सुरेशकुमार कनोडियाले मेडिकल कलेज विक्री भएको बताए । ‘मेडिकल कलेजमा रहेको हाम्रो शेयर विक्री गरिसक्यौं, अब कलेज सुनीलजीले चलाउनुहुन्छ,’ प्रबन्ध निर्देशक डाक्टर कनोडियाले भने ।

नेपालगञ्ज मेडिकल कलेजमा कनोडिया ग्रूपको वर्चस्व रहेको थियो । मेडिकल कलेजमा राजनीति गर्ने, काम नगर्ने र हाजीर लगाएर जागीर खाँदै आएका कर्मचारीहरू अब सुनील शर्माको व्यवस्थापनले तह लाग्ने प्रबन्ध निर्देशक डाक्टर कनोडियाले बताए ।

Translate »