२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 23, 2026

राष्ट्रपति महिला उत्थान कार्यक्रम : अछामका ९ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्दार




टेकराज भण्डारी / साउन ९, अछाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत हालसम्म अछामका ९ जना महिलाको निःशुल्क हवाई उद्दार गरिएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्दार सम्बन्धी कार्यविधि अनुसार उनीहरूको निःशुल्क उद्दार गरिएको हो ।

आर्थिक वर्ष २०७५/०७६ देखि जिल्लामा सुरुवात भएको यस कार्यक्रम अन्तर्गत हालसम्म ९ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । प्रशासनका अनुसार २०७६ भदौ २९ गते कमलबजार नगरपालिका वडा नम्बर १ का इन्द्रा विकको हवाई उद्दार गरिएको थियो । यस्तै २०७६ चैत्र २३ गते कमलबजार नगरपालिका वडा नम्बर ५ का बेलादेवी भण्डारी, २०७७ वैशाख २७ गते रामारोशन गाउँपालिका वडा नम्बर ६ का देउमा साउदको हवाई उद्दार गरिएको छ ।

त्यस्तै २०७७ ज्येष्ठ ३ गते तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ का तुलसी वड, २०७७ असार १० गते तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ का मनीषा उखेडाको पनि हवाई उद्दार गरिएको हो । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार २०७७ असार २९ गते पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारलाका रमिता विक, २०७७ भदौ ३ गते रामारोशन गाउँपालिका वडा नम्बर ७ का सुरा भण्डारीको पनि हवाई उद्दार गरिएको छ । यसैवीच २०७७ असोज ३० गते पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का कोपिला विक र २०७७ चैत्र ११ गते तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ का चन्द्रा शाहीको हवाई उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।

लगातार लामो व्यथा लागि बच्चा जन्माउन कठिनाई भएमा, गर्भमै बच्चाको मृत्यु भएमा, गर्भवती अवस्थामा अत्यधिक रक्तस्राव भएमा, रक्त अल्पता भएमा, वर्थिङ सेन्टरमा सुत्केरी गराउँदा अचानक आमाको अवस्था असामान्य भएर अत्यधिक रक्तस्राव भई बेहोस भएमा, विभिन्न खालका कम्पन आएमा, आमा र बच्चा दुबैको ज्यान जोखिम भएमा स्वास्थ्य कार्यालय, जिल्ला अस्पतालको सिफारिसका आधारमा स्थानीय प्रशासनले हवाई उद्दारका लागि प्रक्रिया अघि बढाएर हेलिकोप्टर झिकाउने गरेको छ । निःशुल्क हवाई उद्दार सेवा कार्यक्रम लागू भएपछि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुले अकालमै ज्यान गुमाउनु नपरेको अछामका प्रमुख जिल्ला अधिकारी मल्लको भनाइ छ ।

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिबार
Translate »